Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तयार भइसकेको ‘मास्टर्नी’ पुनः ८ दिन किन खिचियो ?

फिल्मीखबर, काठमाडौं, 2026/08/09

priyanka karki

 

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी स्वयं मख्य भूमिकामा छिन् । फिल्मको निर्देशन भने शुभेन्दु घोषले गरेका हुन् । उनी बंगाली भाषी निर्देशक हुन् । यसअघि उनले अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ बनाएका थिए । 

शुभेन्दुले ‘मास्टर्नी’को सम्पूर्ण छायांकन २१ दिनमै सकाएका थिए । त्यसपछि उनले भारतमा फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु गरे । मुम्बईको यशराज स्टुडियोमा डबिङ र सम्पादनको काम भयो । फिल्मको पोस्ट प्रोडक्सनको काम लगभग पूरा भइसकेको थियो । त्यही बीचमा प्रियंकाले सिमोस सुनुवारलाई निर्देशक लिएर ८ दिनसम्म फिल्मको पुनः छायांकन गरिन् । 

गत बिहीबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रियंकाले फिल्म ‘रि-सुट’ गरेको निर्धक्क स्वीकार गरिन् । उनका अनुसार २ महिनाअघि नै फिल्म तयार भइसकेको थियो । त्यसपछि सीमित परिवार र नजिकका व्यक्तिहरू बसेर फिल्म हेरेपछि केही दृश्य पुनः खिच्ने निर्णय गरेको उनले बताइन् । तर, त्यो सुट शुभेन्दु घोषसँगको सहमतिमै गरिएको उनको दाबी छ ।

उनले भनिन्, ‘हो, हामीले ७-८ दिन फिल्म पुनः खिचेका हौं । फिल्म हेरेपछि केही परिवर्तन गर्नुपर्छ भन्ने हामीलाई महसुस भयो । शुभेन्दु घोष पनि त्यसमा सहमत हुनुभयो । भारतमा पोस्टको काम भइरहेकाले उहाँ छायांकनमा भने आउन पाउनुभएन । त्यसपछि नै सिमोस सुनुवार हामीसँग जोडिनुभएको हो । र, ८ दिनको ‘सुट’ उहाँले नै गर्नुभयो ।’

उनले ‘मास्टर्नी’ आफ्नो प्रोडक्सनको पहिलो फिल्म भएकाले रिलिजको अन्तिम समयसम्म पनि सुधार गर्न सकिने कुरामा पछि नहट्ने बताइन् । ‘चाहे निद्रा हराम होस् वा म अझै ५ केजी दुब्लाऊँ, फिल्मलाई अझ राम्रो बनाउन सक्दो प्रयास गर्नेछु । किनकि, म र मेरो प्रोडक्सन हाउसको यो पहिलो फिल्म हो । यो मेरो लागि पनि ठूलो जिम्मेवारी हो,’ उनले भनिन् ।