
कन्नड सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार ५ भाषामा सार्वजनिक झन्डै ५ मिनेट लामो ट्रेलरमा यश ग्याङ्स्टर अवतारमा देखिएका छन् । उनको लुक्स र ‘स्क्रिन प्रेजेन्स’ निकै प्रभावशाली देखिन्छ । तर, ट्रेलरले फिल्मको कथावस्तु भने स्पष्ट रूपमा खुलाएको छैन ।
ट्रेलरको सबैभन्दा आकर्षक पक्ष यसको मेकिङ, छायांकन र एक्सन हो । ट्रेलरमा आँधी जसरी आउने दृश्य र पार्श्व ध्वनीमार्फत दर्शकलाई प्रभावित पार्ने प्रयास गरिएको छ । तर, कथासँग जोडिने भावनात्मक पक्ष भने त्यति बलियो देखिँदैन । जसले गर्दा यशको स्टारडम र भव्य दृश्यको पछाडि कथाको कमजोरी त लुकाउन खोजिएको होइन भन्ने आशंका पैदा हुन्छ ।
फिल्ममा यशसहित नयनतारा (डायना मरियम कुरियन), कियारा आडवाणी, हुमा कुरैसी, तारा सुतारिया र रुक्मिणी वसन्तको पनि मुख्य भूमिका रहेको छ । तर, अभिनेत्रीहरूको पात्रबारे ट्रेलरमा धेरै खुलाइएको छैन । ट्रेलरले एउटा रहस्य भने खोलेको छ । त्यो हो, यशको दोहोरो भूमिका । एक दृश्यमा उनले निभाएका दुई पात्र एकअर्कासँग भिडिरहेका देखिन्छन् ।
भदौ १० अर्थात् २६ अगस्टमा प्रदर्शन हुन लागेको यो फिल्मलाई गीतु मोहनदासले लेखन तथा निर्देशन गरेकी हुन् । उनले यसअघि हिन्दी फिल्म ‘लायर्स डाइस’ र मलयालम फिल्म ‘मूथोन’ निर्देशन गरेकी थिइन् । फिल्मका निर्माता भने यश स्वयं हुन् । उनको कम्पनी मोन्स्टर माइन्ड क्रिएसन्सले फिल्मको निर्माण गरेको हो ।

