Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीतमा छमछमी नाचिन् केकी

फिल्मीखबर, काठमाडौं, 2026/08/07

KEKI ADHIKARI

 

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ । पञ्चेबाजाको धुनमा तयार पारिएको गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ । गीतमा समीक्षा अधिकारी र सागर आलेको युगल गायन छ भने समीर जैरुले पञ्चेबाजा बजाएका छन् ।

सार्वजनिक गीतको भिडियोमा जन्ती गएका युवकले लोकन्ती (युवती)लाई विवाहको प्रस्ताव राखेपछि युवतीले त्यसलाई अस्वीकार गरेको प्रसंग देखाइएको छ । युवकले सरकारी जागिरको प्रलोभन देखाउँदा युवतीले बुबाआमाले खोजेको केटासँग मात्र विवाह गर्ने अडान राखेकी छन् । भिडियोमा केकी अधिकारी र करण साहले पञ्चेबाजाको धुनमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । 

संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवी थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ, अन्जन ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई वसन्त लम्सालले निर्माण गरेका हुन् । गायक समेत रहेका लम्सालले यसअघि फिल्म ‘कर्मा’ बनाएका थिए ।

अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । यसमा मित्र डि गुरुङको सम्पादन, रोमन बज्राचार्यको पार्श्व ध्वनी तथा रेनिस फागोको रंग संयोजन छ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई फिल्ममा मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको जनाइएको छ ।