Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ महिनापछि ५१ दिन मनाउने फिल्म बन्यो ‘लालीबजार’

फिल्मीखबर, काठमाडौं, 2026/06/27

Lalibazar

 

डिजिटल युगको आरम्भसँगै नेपाली फिल्मका लागि हलमा प्रदर्शनको ५१ दिन दुर्लभ बनेको छ । वर्षमा एकाध फिल्मले मात्र यो उपलब्धि हासिल गर्ने गरेका छन् । पछिल्लो पटक माघ १६ गते प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले हलमा ५१ दिन मनाएको थियो । अब ५ महिनापछि फिल्म ‘लालीबजार’ले उक्त यात्रा पूरा गरेको छ । 

वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले शनिबार क्यूएफएक्सका भक्तपुर, सिभिल मल र सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज्, सितापाइलाको सिके सिनेमाज्, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज्को बुटवल र इलाम तथा नेपालगन्जको सिने रोयल हलमा ५१ दिन पूरा गरेको निर्माता कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । 

फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईले ५१ दिनको अवसरमा शनिबार काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकसँग भेट गर्ने बताए । उनले अब फिल्मको विदेश प्रदर्शन पनि सुरु भएको जानकारी दिए । ‘अब फिल्म विदेशी बजारमा पनि लाग्दैछ । अहिले युरोपका विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ । चाँडै जापान, अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शन हुँदैछ’, उनले भने ।   

यस वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनिसकेको ‘लालीबजार’ले ५१ दिनसम्म ९ करोड ३२ लाखमाथिको व्यापार गरिसकेको छ । गएको दुई सातायता फिल्मको व्यापारमा भारी गिरावट आएकाले अब १० करोडको आँकडा पार गर्न भने मुस्किल देखिन्छ । यद्यपि, अहिले हलमा नयाँ नेपाली फिल्मको हाहाकार रहेकाले त्यसको फाइदा फिल्मले लिन सक्छ ।

यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, जानकी कठायत, सरस्वती अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिलमबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गरेका छन् ।

Most Visited News (monthly)