
आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ले प्रचार अभियानलाई तीव्रता दिन थालेको छ । यसैक्रममा शुक्रबार फिल्मका पाँच नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका चार मुख्य कलाकारलाई समेटिएको पोस्टरले दुई जोडीको प्रेम दर्शाउने प्रयास गरेको छ । गाउँदेखि पशुपति आर्यघाटसम्मका दृश्य पोस्टरमा समावेश छन् ।
फिल्मको एक पोस्टर भने दर्शकलाई रोचक लाग्न सक्छ, जहाँ मुकुन भुसालले साडी र चोलो लगाएर श्रीकृष्ण निरौलालाई काँधमा बोकेका छन् । दुवैको अनुहारमा देखिएको खुसीको भावले उनीहरू दाजुभाइ रहेको संकेत गर्छ । केही दिनअघि निर्माण पक्षले सार्वजनिक गरेको एक तस्वीरमा मुकुन सोही पहिरनमा बच्चालाई काखमा खेलाइरहेको अवस्थामा देखिएका थिए ।
आहा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । ‘बुलाकी’बाट लेखनमा राष्ट्रिय अवार्ड जितेका राजबहादुरले यसअघि ‘सिटामोल’ निर्देशन गरेका थिए । फिल्ममा मुकुन र श्रीकृष्णसहित जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

