
‘पिके डन’को रूपमा परिचित कलाकार प्रदीपकुमार चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘तरंग’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले सामाजिक सञ्जालमार्फत फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यो फिल्मको गत वर्ष नै छायांकन पूरा भइसकेको छ ।
सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बू र कृष्ण थापा प्रस्तुत छन् । पृष्ठभूमिमा कलेजको भवन देख्न सकिन्छ । यसले कलेजमा अध्ययनरत विद्यार्थीहरूको कथालाई फिल्मले मुख्य विषयवस्तु बनाएको संकेत गर्छ । यद्यपि, कथावस्तुबारे निर्माण टिमले कुनै जानकारी गराएको छैन ।
‘सुपर नेचुरल लभस्टोरी’ (अलौकिक प्रेमकथा) भनिएको यस फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग, प्रन्शु चौधरीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । फिल्ममा निर्देशक चौधरी स्वयं पनि मुख्य भूमिकामा छन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
देवदत क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी हुन् । कार्यकारी निर्मातामा हरिनारायण चौधरी रहेका छन् । महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत, मनिष निरौलाको पार्श्व संगीत (बीजीएम) तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ ।

