
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ जितेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को प्रदर्शन मिति तय गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माताले भदौ १९ गतेबाट फिल्म प्रदर्शन हुने जानकारी दिए । यो मितिमा श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा परेको छ ।
सन् २०२७ को मार्च १४ मा हुने विश्व प्रतिष्ठित ‘द एकेडेमी अफ मोसन पिक्चर अवार्ड’ (ओस्कार)मा पठाउने उद्देश्यसहित फिल्मलाई भदौमा रिलिज गर्न लागिएको जनाइएको छ । हरेक वर्ष सेप्टेम्बरमा नेपालस्थित ओस्कारको छनोट कमिटीले फिल्मको आवेदन माग गर्ने गरेको छ । ओस्कारमा पठाउन कम्तीमा सात दिन फिल्म हलमा प्रदर्शन भएको हुनुपर्ने प्रावधान छ ।
‘एलिफेन्ट्स इन द फग’ कान्स फेस्टिभलमामा ‘जुरी प्राइज’ जित्ने पहिलो नेपाली फिल्म हो । यसलाई नेपाली फिल्मको महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । यो पुरस्कार प्राप्त गरेसँगै चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले फिल्मका निर्मातालाई साढे २ लाख नगदसहित सम्मान गरिसकेको छ भने गत साता काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।
कान्समा फिल्मको प्रिमियर भएपछि विश्वका चर्चित फिल्मकर्मीहरूले प्रशंसा गरेका थिए । बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडीमा फिल्मबारे लेख्दै भनेका थिए, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ ।’
अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको मर्मस्पर्शी कथा भनेको छ । यसमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहको अभिनय रहेको छ ।

