
श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा अभिनय गर्ने कलाकार सार्वजनिक गरिएको छ । फिल्ममा ‘बा’को भूमिका अभिनेता दिव्यदेव पन्तले निभाएका छन् । आइतबार निर्माताले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
पोस्टरमा दिव्य गम्भीर मुद्रामा देखिएका छन् । आँखामा पावरवाला चस्मा लगाएका उनको कपाल र दाह्री सेतै फुलेको छ । उनीसँगै पोस्टरमा अभिनेत्री सुहाना थापालाई पनि देख्न सकिन्छ । सिउँदोमा सिन्दुर र गलामा मंगलसूत्र लगाएकी उनी दिव्यको छोरीको भूमिकामा रहेको पोस्टरबाट स्पष्ट हुन्छ । उनी भावुक मुद्रामा झोला बोकेर कतै हिँडिरहेकी देखिन्छिन् ।
पोस्टरको पृष्ठभूमिमा एउटा तस्वीर राखिएको छ, जहाँ दिव्यसँग झरना थापा देखिएकी छन् । उनीहरूको साथमा दुई बच्चा पनि छन् । अर्को एक दृश्यमा बाबुछोरी फलैँचामा बसेर कुरा गरिरहेका देखिन्छन् । जग्गाधनी दर्ता पूर्जा र छापलाई पनि पोस्टरको पृष्ठभूमिमा राखिनुले परिवारका लागि बाबुले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा झरना, दिव्य र सुहानासहित सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको पनि मुख्य भूमिका रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठले फिल्मको छायांकन गरेका हुन् ।

