.jpg)
नेपाली फिल्मको सुरुवातदेखि आजसम्मको यात्राका जीवित साक्षी हुन्, नीर शाह । नेपालमा बनेको चौथो फिल्म ‘मनको बाँध’ (२०३७)बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । आफ्नो जीवनको ५ दशकभन्दा बढी समय नेपाली फिल्ममा विताइसकेका उनी आजपर्यन्त पनि अभिनयमा उत्तिकै सक्रिय छन् । फिल्म निर्माण, निर्देशन र लेखनमा पनि उनको ठूलो योगदान छ ।
उनले आफ्नो करिअरमा ‘सिन्दूर’, ‘कुसुमे रुमाल’, ‘बलिदान’, ‘प्रेम पिण्ड’, ‘स्वर्ग’, ‘सन्तान’, ‘मुना मदन’, ‘सानो संसार’ जस्ता फिल्ममा गरेको अभिनय स्मरणीय मानिन्छ । तर, उनले अभिनयतर्फ अवार्ड भने कमै पाएका छन् । बरु फिल्म क्षेत्रमा पुर्याएको योगदानका लागि उनले विभिन्न सरकारी र निजी संस्थाबाट थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
उमेरले ७२ वर्षमा टेकिसकेका शाहका लागि यस वर्ष भने जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण बनेको छ । किनकि, उनले आफ्नो ५ दशकभन्दा लामो अभिनय करिअरमा पहिलो पटक राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा उनले फिल्म ‘परान’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।
गत वर्ष प्रदर्शनमा आएको ‘परान’ उनको करिअरको सर्वाधिक कमाउने फिल्म हो । यसले घरेलु बक्स अफिसमा लगभग १८ करोडको व्यापार गरेको थियो । यसमा उनले धर्मनाम पात्रको भूमिकामा जीवन्त अभिनय गरेका थिए । फिल्मको कथा नै उनको पात्रमा केन्द्रित थियो । फिल्म रिलिजको बेला उनले यो फिल्मलाई आफ्नो करिअरको ‘क्लाइमेक्स’ भनेका थिए ।

