आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हली’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक साढे १ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु र सेटिङबारे प्रकाश पारेको छ । छाउपडी प्रथालाई फिल्मले मुख्य विषयवस्तु बनाएको टिजरले प्रस्ट पार्छ । फिल्म ग्रामीण परिवेशमा आधारित भएर निर्माण भएको छ ।
महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने प्रचलनलाई टिजरमा देखाइएको छ । महिनावारी भएकी छोरीलाई स्कुलले परीक्षा दिन समेत अस्वीकार गरेपछि बाबुले पूरै गाउँ र स्कुलविरुद्ध अदालतमा मुद्धा हालिदिन्छन् । त्यसपछि गाउँले उनीहरूमाथि गर्ने व्यवहार र कानुनी लडाइँलाई टिजरमा मर्मस्पर्शी रूपमा चित्रण गरिएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा निर्देशक प्रतीक स्वयंको मुख्य भूमिका रहेको छ । उनीसहित सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । फिल्मको एक गीतमा दीलिप रायमाझी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्कीले नृत्य गरेका छन् ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको निर्माण पूजा गुरुङ र जस्मिन श्रेष्ठले गरेका हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

