Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगनाको ‘भारत भाग्य विधाता’को हरिबिजोग

एजेन्सी, काठमाडौं, 2026/06/14

Bharat Bhhagya Viddhaata

 

एक समय अभिनेत्री कंगना रनौतलाई बलिउडको ‘हिट मेसिन’ भन्ने गरिन्थ्यो । किनकि, उनका फिल्म विरलै असफल हुन्थे । करिअरको उत्कर्षमा रहँदा उनका ‘तनु वेड्स मनु’, ‘वन्स अपन ए टाइम इन मुम्बई’, ‘तनु वेड्स मनु रिटर्न्स’, ‘कृष ३’ जस्ता फिल्म सफल भएका थिए । यिनै फिल्मका कारण उनको बलिउडमा माग र पारिश्रमिक ह्वात्तै बढेको थियो । 

तर, केही वर्षयता उनको फिल्म करिअरमा पहिरो नै आएको छ । उनका फिल्महरू लगातार असफल भइरहेका छन् । रोचक कुरा के छ भने गएको ११ वर्षमा उनले एउटा पनि हिट पाएकी छैनन् । यो बीचमा उनका १० वटा फिल्म असफल भए । अब यो संख्या ११ पुग्ने देखिन्छ । किनकि, उनी अभिनीत नयाँ फिल्म ‘भारत भाग्य विधाता’ले पनि फ्लपको संकेत गरिसकेको छ । 

गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले दुई दिनमा २ करोड ४५ लाख ग्रस कमाएको छ । एक करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ४५ लाख कमाएको थियो । आइतबार (आज) फिल्मले एक करोडसम्म कमाउने अनुमान गरिएको छ । सोमबारबाट फिल्मको व्यापार लाखमा झर्ने भारतीय ट्रेड एनालिस्टहरूको विश्लेषण छ ।

‘भारत भाग्य विधाता’ कंगनाको करिअरकै सबैभन्दा कमजोर सुरुवात गर्ने फिल्म समेत बनेको छ । यसअघि उनको सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म ‘तेजस’ (२०२३) थियो, जसले पहिलो दिन १ करोड २५ लाख कमाएको थियो । ६० करोडमा निर्माण भएको ‘भारत भाग्य विधाता’ले दयनीय व्यापार गरेपछि यतिबेला बलिउडमा कंगनाको युग सकिएको विश्लेषण भइरहेको छ ।