
बाल मनोविज्ञानको कथामा आधारित फिल्म ‘रोल नं १’ले आफ्नो लक्षित दर्शकको साथ पाउन थालेको छ । केही दिनयता उल्लेख्य रूपमा बालबालिकाहरू अभिभावकको साथमा हल पुगिरहेका छन् । पूर्वदेखि पश्चिमसम्मका विद्यालयहरूमा त विद्यार्थीहरूलाई फिल्म देखाउने प्रतिस्पर्धा नै चलेको छ । जसले फिल्मको व्यापारमा ठूलो फाइदा पुगेको छ ।
हिजो शनिबार देशभरका करिब एक दर्जन विद्यालयहरूले हल नै बुक गरेर विद्यार्थीहरूलाई फिल्म देखाएका थिए । काठमाडौंसहित धनगडी, कैलाली, कोहलपुर, नेपालगञ्ज, इटहरी, मोरङ, बाँके जस्ता सहरमा दैनिक यो क्रम जारी रहेको सह-निर्माता रमेश चौलागाईंले जानकारी दिए । देशभरका विद्यालयहरूले स्वतःस्फूर्त रूपमा फिल्म देखाइरहेको उनको भनाइ छ ।
फिल्मका निर्माता विनोद पौडेलले फिल्मलाई स्कुलदेखि अभिभावकसम्मको साथ मिलेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हाम्रो फिल्मलाई विधार्थी, स्कुल र अभिभावक सबैको साथ मिलेको छ । विद्यार्थी आउँदा हामी बुवाआमालाई पनि लिएर आउँछौँ भनिरहनुभएको छ । बुवाआमा आएर हेर्दा छोरोछोरीलाई पनि देखाउँछौं भन्नुहुन्छ । यो हाम्रो लागि ठूलो उपलब्धि हो ।’
जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सुवास गजुरेल, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले बालबालिकालाई अभिभावकले दिने पढाइको दबाब र त्यसले पार्ने प्रभावको कथा पेस गरेको छ ।

