Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनसँग डिभोर्सपछि पनि केसी थर किन राख्छिन् सुस्मिता ?

फिल्मीखबर, काठमाडौं, 2026/06/14

Sushmita KC

 

अभिनेत्री सुस्मिता बम्जनले अभिनेता भुवन केसीसँग विवाह गरेपछि आफ्नो थर परिवर्तन गरेर केसी राखेकी थिइन् । अनमोल जन्मिएको केही वर्षपछि भुवनसँग सम्बन्ध विच्छेद गरेकी उनले अहिलेसम्म केसी थर भने फेरेकी छैनन् । उनले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम हेर्ने हो भने उनले केसी नै थर राखेकी छन् । 

भुवनसँग डिभोर्स भएको २ दशकभन्दा बढी भइसक्दा पनि केसी थर परिवर्तन नगरेका कारण धेरैले उनलाई यसबारे जिज्ञासा राख्ने गरेका छन् । कतिले उनका पोस्टमा कमेन्ट गर्दै उनलाई पूर्वश्रीमान्‌को ‘दास’सम्म भनेका छन् । केसी थरलाई लिएर पछिल्ला दिनमा व्यापक टीका–टिप्पणी हुन थालेपछि सुस्मिताले शनिबार साँझ भिडियोमार्फत यसबारे स्पष्टीकरण दिएकी छन् ।

उनले भिडियोमा भनेकी छन्, ‘मलाई थर केसी प्यारो मात्र होइन, अत्ति अत्ति अत्ति नै प्यारो छ । किनभने केसी थर भएको एउटा व्यक्ति मेरो छोरा हो । मेरो मुटुको टुक्रा हो । मेरो जिन्दगी हो । मेरो ज्यान हो । मेरो प्राण हो । मेरो सबथोक हो । उसको नाम अनमोल केसी हो । यसैले पनि यो केसी थर मलाई सुपर प्यारो छ ।’

उनले भिडियोमा आफ्नो पालामा बिहे गरेपछि श्रीमान्‌को थर राख्नैपर्ने चलन रहेकाले पनि केसी थर राखेको बताएकी छन् । ‘मेरो जमानामा विवाहपश्चात श्रीमान्‌कै थर राख्नुपर्थ्यो । त्यसबेला रिति नै थियो, आफ्नो जातमा भित्र्याउने भन्ने । विवाहपछि पूजा गरेर आफ्नो जातमा हालिहाल्थे । त्यसपछि महिलाले श्रीमान्‌को जात लेख्नै पर्थ्यो,’ उनले भनेकी छन् । 

पछिल्लो समय भारतमा बस्दै आएकी सुस्मिता फिल्ममा नदेखिएको ६ वर्षभन्दा बढी भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘स्कुल’ थियो, जुन सन् २०२० मा रिलिज भएको थियो । सन् २०१६ मा उनले आफ्नै लगानीमा फिल्म ‘म त तिम्रै हुँ’ समेत निर्माण गरेकी थिइन् । उनका ‘करोडपति’, ‘नेपाली बाबु’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता थुप्रै फिल्म सफल छन् ।