Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’ हिट भएपछि रिलिज भयो ‘मैँ राम्री छु त नि’ गीत

फिल्मीखबर, काठमाडौं, 2026/06/12

Swastima Khadka

 

यस वर्षको पहिलो ‘क्लिन हिट’ फिल्म ‘लालीबजार’ प्रदर्शनमा आएको एक महिनाभन्दा बढी भइसकेको छ । अहिलेसम्म फिल्मले बक्स अफिसमा ९ करोडको आँकडा पार गरिसकेको छ । अझै पनि काठमाडौंसहित विभिन्न सहरका हलहरूमा दर्शकको चाप सुखद रहेकाले फिल्मले आगामी सातासम्म दोहोरो अंकको व्यापार गर्ने निश्चित देखिन्छ ।

फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरेसँगै शुक्रबार निर्माण पक्षले फिल्ममा समावेश ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीतको पूरा अंश दर्शकमाझ ल्याएको छ । फिल्म प्रदर्शन हुनुअघि यो गीतको सानो अंश युट्युबमा सार्वजनिक गरिएको थियो, जसमा हजारौं टिकटक, रिल्स, र शर्टस् बनिसकेका छन् । यसको पूरा अंश भने दर्शकले फिल्ममा मात्र हेर्न पाएका थिए । 

प्रकाश सपूतको शब्द तथा सङ्गीत रहेको यस गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, विन्दू बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा महिलाको सुन्दरताको वर्णन गरिएको छ । महिलालाई मुर्तिकारले कुँदेको सुन्दर मुर्तिसँग तुलना गर्दै राम्री हुनु केको दोष भन्दै गीतले प्रश्न गरेको छ । 

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द कुमार श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मालगायतका कलाकारहरू देखिएका छन् । फिल्ममा राजा साबको भूमिकामा रहेका रवीन्द्रलाई खुसी पार्न स्वस्तिमासहितका महिलाले नृत्य प्रस्तुत गरिरहेको भिडियोमा देखिन्छ । 

यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थीलगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यू गरेका छन् ।