
पछिल्लो समय देशका विभिन्न सहरमा सुविधासम्पन्न मल्टीप्लेक्स हल खुल्ने क्रम बढिरहेको समयमा नेपाली फिल्मको ठूलो बजार मानिने रुपन्देहीको भैरहवामा पनि नयाँ हल सञ्चालनमा आएको छ । देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन ‘आईएनआई सिनेमाज्’ले सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा नयाँ हल सञ्चालनमा ल्याएको हो ।
भाटभटेनी सुपरस्टोरको पाँचौं तल्लामा स्थापना गरिएको उक्त हलमा ३९६ दर्शक क्षमताको दुईवटा अडिटोरियम रहेका छन् । आईएनआईका निर्देशक आभाष कुँवरका अनुसार हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस-एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको छ । हल निर्माणमा ११ करोड खर्च भएको उनले बताए ।
आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाले भैरहवाको हलमा जडान गरिएको अत्याधुनिक प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको दृश्य र श्रव्य अनुभव दिलाउने विश्वास व्यक्त गरे । सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको उनको भनाइ छ ।
सन् २०१९ मा स्थापना भएको आईएनआईले यसअघि काठमाडौं, बुटवल, सिमरा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आउटलेट विस्तार गरिसकेको छ । काठमाडौंमा मात्र यसका तीनवटा आउटलेट छन्, जसमा नयाँ बानेश्वरमा रहेको दीपक-दीपा समूहको हल पनि पर्छ । भैरहवामा नयाँ हल खुलेसँगै आईएनआईको कुल स्क्रिन संख्या १३ पुगेको छ ।

