
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’ विजयादशमी (दशैं)को छेको पारेर असोज १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यसअघि गत वर्षको चैत १३ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको थियो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल देखिएका छन् । सुरक्षाले मुकुनको दुईवटै खुटा समातेर भुइँमा तानिरहेको देख्न सकिन्छ । मुकुन भने रुन्चे अनुहारमा कसैसँग सहयोग मागिरहेका छन् । यसले पत्नीबाट पीडित पुरुषको कथामा फिल्म आधारित रहेको संकेत गर्छ । यद्यपि, निर्माण टिमले कथावस्तुबारे जानकारी गराएको छैन ।
यस फिल्ममा सुरक्षा र मुकुनसहित नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, श्रेया नारायणलगायतका कलाकारहरूको अभिनय रहेको छ । नारायण त्रिपाठीले यही फिल्मबाट दुई दशकपछि अभिनयमा पुनरागमन गरेका हुन् ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् । कार्यकारी निर्माताहरू उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य हुन् । फिल्मका गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

