
नेपालको पहिलो फिल्मसम्बन्धी अनलाइन पोर्टल फिल्मीखबर डटकम आज (मंगलबार)बाट १८औँ वर्षमा प्रवेश गरेको छ । नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत यस अनलाइनमा इस्वी सम्वत् ९ जुन २००९ (२६ जेठ २०६६)बाट औपचारिक रूपमा समाचार सम्प्रेषण हुन थालेको थियो ।
फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेले आजसम्मको यात्रामा पाठक तथा फिल्मकर्मीले गरेको अमूल्य सहयोगलाई सम्मान गर्दै आगामी दिनमा अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्रीका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले आगामी दिनमा समाचारमा विविधता ल्याउने पनि बताए ।
प्रधान सम्पादक गैरेले फिल्मीखबर १८औँ वर्षमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘नेपाली फिल्म उद्योगको परिचय विस्तारका लागि, स्तरीय फिल्म निर्माणको अभियानमा मिडियाले खेल्नुपर्ने भूमिकाबाट फिल्मीखबर कहिल्यै पछाडि हट्ने छैन । फिल्म क्षेत्रमा रहेका विकृतिलाई निरुत्साहित गर्दै तथा सकारात्मक मार्गमा प्रेरित गर्न हाम्रो यात्रा सधैं जारी रहनेछ ।’
फिल्मीखबरका सह–संस्थापक छवि पचभैयाले संस्थाको सफलतामा पाठकको निरन्तर साथ, फिल्मकर्मीहरूको भरोसा र सम्पूर्ण शुभेच्छुकको सहयोग मुख्य आधार रहेको बताए । आगामी दिनमा पनि यही विश्वासलाई कायम राख्दै अझ गुणस्तरीय सामग्रीमार्फत चलचित्र पत्रकारितामा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
आज नै फिल्मीखबरका प्रधान सम्पादक तथा प्रकाशक सुमन गैरेको जन्मदिन समेत परेको छ । उनले विभिन्न माध्यमबाट फिल्मीखबरसँगै आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

