Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजेटका कारण अड्किएको हो ‘कृष ४’ ?

एजेन्सी, काठमाडौं, 2026/06/08

krrish 4

 

बलिउडको चर्चित प्रोजेक्टमध्ये एक ‘कृष ४’को निर्माण घोषणा भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर, अझै यो सुपरहिरो फ्रेन्चाइज फिल्म छायांकनमा जान सकेको छैन । केही समयअघि फिल्मको बजेटलाई लिएर ऋतिक रोशन र यशराज फिल्म्सबीच मतभेद उत्पन्न भएको खबर बाहिरिएको थियो । फिल्मको छायांकनमा ढिलाइ हुनुको मुख्य कारण यसैलाई मानिएको छ ।

भारतीय मिडियाका अनुसार ऋतिकले फिल्मका लागि भारु ५ सय करोड बजेट मागेका छन् । तर, यशराजका प्रमुख आदित्य चोपडा भने ३५० करोडभित्र छायांकनदेखि पोस्ट प्रोडक्सनसम्म सक्नुपर्ने पक्षमा छन् । ऋतिक र आदित्यबीच बजेटमा सहमति जुट्न नसक्दा लामो समयदेखि फिल्मको पूर्वतयारीका काम समेत प्रभावित भएको जनाइएको छ ।

तर, हालै एक अन्तर्वार्ताका क्रममा ऋतिकका पिता तथा निर्देशक राकेश रोशनले बजेटका कारण फिल्मको छायांकनमा ढिलाइ नभएको स्पष्ट पारेका छन् । उनले ऋतिकले यशराजसँग ५ सय करोड बजेट मागेको भन्ने विषयको पनि खण्डन गरेका छन् । फिल्मको बजेटलाई लिएर यशराजसँग कुनै विवाद र मतभेद नरहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘फिल्म कुनै विवाद वा मतभेदका कारण अड्किएको होइन । ‘कृष ४’माथि काम भइरहेको छ र फिल्मलाई लिएर कुनै प्रकारको समस्या छैन । हाल ऋतिक आफ्ना अन्य व्यावसायिक प्रतिबद्धता र प्रोडक्सन हाउसका काममा व्यस्त छन् । त्यसैले छायांकनको मिति तय हुन नसकेको हो ।’ उनका अनुसार ऋतिकको समय मिल्नसाथ फिल्मको छायांकन सुरु हुनेछ ।

‘कृष ४’ यसकारण पनि विशेष छ कि यो ऋतिक रोशनको निर्देशनमा बन्ने पहिलो फिल्म हुनेछ । केही समयअघि राकेश रोशनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै ‘कृष ४’मार्फत ऋतिकले निर्देशनमा डेब्यू गर्ने घोषणा गरेका थिए । यस फिल्ममा उनको अभिनय पनि रहनेछ । ‘कृष’का अघिल्ला श्रृंखलाले बक्स अफिसमा ठूलो व्यावसायिक सफलता हासिल गरेका थिए ।