Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन नेपाल आए आयुष्मान खुराना ?

फिल्मीखबर, काठमाडौं, 2026/06/07

ayushmann khurrana

 

बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना यतिबेला नेपालमा छन् । श्रीमती ताहिरा कश्यपसँग नेपाल आएका उनी शनिबार साँझ काठमाडौंको ठमेलस्थित ‘थर्टी थ्री डिग्री वेस्ट स्काइ बार’ नामको क्लबमा देखिएका थिए । त्यहाँ उनले नेपाली गायक सुशान्त केसीसँग कुराकानी गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

आयुष्मानको नेपाल आगमन दुईवटा उद्देश्यका लागि भएको बुझिएको छ । उनी स्काइबारको दोस्रो वार्षिकोत्सवमा सहभागी हुन र चौधरी ग्रुप (सिजी)को एक सम्झौता हस्ताक्षर कार्यक्रमका लागि नेपाल आएको स्रोतको दाबी छ । उनी भारतका लागि सिजीको वाईवाई चाउचाउका ‘ब्रान्ड एम्बास्डर’ समेत हुन् । उनलाई सन् २०२३ मा सिजीले ‘ब्रान्ड एम्बास्डर’ नियुक्त गरेको थियो । 

आयुष्मानले नेपाल आएसँगै सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी र अध्यक्ष राहुल चौधरीसँग भेट गरिसकेका छन् । निर्वाणले आयुष्मानसँग भेट गरेको तस्वीर शनिबार साँझ सामाजिक सञ्जालमा सेअर गरेका थिए । निर्वाण र आयुष्मानबीच निकै हार्दिक सम्बन्ध छ । भारतमा रहँदा निर्वाण आयुष्मानका फिल्मको प्रिमियरमा समेत उपस्थित हुने गरेका छन् । 

बलिउडका ‘आउटसाइडर’ अभिनेता मानिने आयुष्मानको हालै नयाँ फिल्म ‘पति पत्नी और वो दो’ रिलिज भएको थियो । उनले ‘ड्रिम गर्ल’, ‘डाक्टरजी’, ‘बधाई हो’, ‘आर्टिकल १५’, ‘दम लगा के हईशा’, ‘विक्की डोनर’ जस्ता करिब दुई दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । उनले गाएका ‘सादी गली आजा’, ‘पानी दा रंग’ जस्ता गीत पनि निकै लोकप्रिय छन् ।