
कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । तीजको अवसर पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री भएको हो । फिल्मलाई बेलायतमा सपन इन्टरटेन्टमेन्ट र हङकङमा मेन ड्रागनले प्रदर्शन गर्नेछन् ।
निर्देशक गुरुङले पोस्टरबाहेक फिल्मका अन्य कुनै प्रचार सामग्री सार्वजनिक नहुँदै दुई देशमा प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए । उनले अन्य देशहरूबाट पनि फिल्मको प्रदर्शनका लागि माग आइरहेको जानकारी दिए । यसअघि २०८० सालमा ‘दयारानी’ बनाएका गुरुङको यो दोस्रो मूलधारको फिल्म हो ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउचा, पुष्कर गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ, प्रतिक्षा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्मका निर्माताहरू मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् । सुशन प्रजापतिले छायांकन गरेको फिल्मका गीतमा मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले संगीत तथा कियर कोइचको सम्पादन रहेको छ । फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा प्रस्तुत गर्ने जनाइएको छ ।

