Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेप अफ मोमो’ : प्रशंसा पायो, दर्शक पाएन

फिल्मीखबर, काठमाडौं, 2026/06/04

Shape of Momo movie

 

नेपाली फिल्म क्षेत्रमा अक्सर एउटा कुरा सुनिन्छ− ‘जुन फिल्म राम्रो छ, त्यही चल्छ ।’ तर, केही फिल्मको हकमा यो भनाइ मेल नै खाँदैन । अन्तर्राष्ट्रिय फेस्टिभलमा वाहवाही बटुलेका र समीक्षकले प्रशंसाको पुल बाँधेका फिल्म प्रायः बक्स अफिसमा नराम्रोसँग पिटिन्छन् । यसको ताजा उदाहरणको रूपमा फिल्म ‘सेप अफ मोमो’लाई लिन सकिन्छ । 

विश्वका थुप्रै प्रतिष्ठित फेस्टिभल घुमेर केही अवार्ड समेत जितेको यो फिल्म गत शुक्रबारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शन भएसँगै दुवै देशका मिडियामा फिल्मबारे समीक्षा प्रकाशन भएका छन्, जहाँ कथावाचन शैलीदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा गरिएको छ । ती समीक्षाहरू पढ्दा लाग्छ, यस्तो नेपाली फिल्म यसअघि बनेकै थिएन ।

तर, फिल्मले लोभलाग्दो समीक्षा पाइरहँदा दुवै देशका हलहरूमा दर्शक भने सिला खोज्नुपर्ने अवस्था छ । नेपालमा त भोलि शुक्रबारबाट फिल्म नै उत्रिँदैछ । यो समाचार तयार पार्दासम्म देशका कुनै पनि हलले शुक्रबारका लागि फिल्मलाई एउटा पनि शो दिएका छैनन् । यसबाट पनि फिल्मले गएको एक सातामा कस्तो व्यापार गर्‍यो भन्ने छर्लङ्ग हुन्छ ।

भारतमा पनि फिल्मको अवस्था नेपालभन्दा फरक छैन । करिब आधा दर्जन शोसहित भारतका हलमा प्रदर्शन सुरु गरेको यो फिल्मले एक सातामा अधिकांश शो गुमाइसकेको छ । बिहीबारका लागि फिल्मको एउटा मात्र शो उपलब्ध रहेको ‘बुक माइ शो’मा देखिन्छ । भोलि शुक्रबारका लागि त्यो पनि छैन । यसरी हेर्दा फिल्मको भारत रिलिज पूर्ण रूपमा असफल भएको छ ।

‘सेप अफ मोमो’को असफलताले के स्पष्ट पार्छ भने सकारात्मक समीक्षा पाउँदैमा फिल्म सफल हुँदैन । यसअघि उत्कृष्ट समीक्षा पाएका ‘राजागन्ज’, ‘सिक्रेट अफ राधा’, ‘शाम्बाला’, ‘केटी हराएको सूचना’, ‘गाउँ आएको बाटो’, ‘सेतो सूर्य’ जस्ता फिल्म पनि असफल भएका थिए । यसले समीक्षक र दर्शकको फिल्मप्रतिको बुझाइ र रुचिबीच ठूलो अन्तर रहेको देखाउँछ ।