
मनोज बाजपेयी बलिउडका सशक्त कलाकार मानिन्छन् । उनी आफ्नो अभिनयमार्फत कुनै पनि चरित्रलाई जीवन्त बनाउने खुबी राख्छन् । तर, हालै उनले गरेको एउटा खुलासाले धेरैलाई आश्चर्यमा पारेको छ । उनले विगत १० वर्षदेखि अभिनय छाड्नेबारे सोचिरहेको बताएका छन् । आफूलाई कुनै पनि बाध्यतामा अभिनय गर्न मन नभएको उनको भनाइ छ ।
रणवीर इलाहाबादियाको पोडकास्ट (द रणवीर शो)मा उनले भनेका छन्, ‘मेरो मनमा धेरै पटक अभिनय छोड्ने विचार आउँछ । पछिल्ला १० वर्षदेखि बीच–बीचमा मन लाग्छ कि अब अभिनय छोडिदिऊँ । तर, फेरि कुनै न कुनै भूमिका आउँछ र म त्यसतर्फ जान्छु । म अभिनयलाई घर चलाउन दाल–रोटी कमाउनैपर्ने बाध्यताको रूपमा गर्न चाहन्नँ ।’
उनले अब आफूलाई रमाइलो लाग्ने चरित्रमा काम गर्न मन भएको बताएका छन् । भन्छन्, ‘मलाई अभिनय गर्न मन छ । यदि कुनै चरित्र छ, जुन निभाउन रमाइलो लाग्नेछ । तर, त्यसका लागि घरबाट कुनै विशेष तयारी गरेर आउनु नपरोस् । आजभोलि मलाई कमर्सियल फिल्महरू गर्न मन लागिरहेको छ । ननसेन्स कमेडी गर्न पनि मन छ । गीतहरूमा नाच्ने पनि इच्छा छ ।’
मनोजले आफूभित्र ‘गली गुलियाँ’, ‘अलीगढ’ र ‘भोंसले’ जस्ता फिल्महरूको केही ‘डार्कनेस’ (अँध्यारोपन) अझै बाँकी रहेको समेत खुलासा गरेका छन् । उनी भन्छन्, ‘ती फिल्मका पात्रहरूका कारण प्रायः मूड स्विङ्स र भावनात्मक थकान महसुस हुन्छ । यसैले पनि मेरो जीवनमा आध्यात्मिकता (स्प्रिचुअलिटी)ले महत्वपूर्ण भूमिका खेल्छ ।’

