Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’ देखाउन अमेरिका उडे रामकृष्ण

फिल्मीखबर, काठमाडौं, 2026/06/03

ramkrishna dhakal

 

नेपालमा सकारात्मक प्रतिक्रिया पाएको फिल्म ‘मालती मंगले’को विदेश प्रदर्शनका लागि यसका निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् । फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन्  ।

तीन देशमा हुने फिल्मको विशेष प्रदर्शनीमा सहभागी भएपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताए । फिल्मको विश्वव्यापी प्रदर्शनका क्रममा दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको सांगीतिक कार्यक्रम समेत सँगसँगै आयोजना हुनेछ । उनी विदेशमा बस्ने नेपाली दर्शकलाई फिल्म देखाउन उत्साहित देखिएका छन् । 

निर्माण टिमले सार्वजनिक गरेको तालिकाअनुसार अमेरिकाको बोस्टनमा ५ जुन (२२ जेठ) र न्यु ह्याम्पसायरमा ६ जुन (२३ जेठ)मा फिल्म प्रदर्शन तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टो र जुलाई ४ (असार २०)मा अस्ट्रेलियाको सिड्नीमा फिल्मको रेड कार्पेट प्रिमियर शो राखिएको छ । 

एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथामा आधारित यस फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ, सुवर्ण थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । फिल्ममा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन तथा कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ । यो फिल्मले गत शनिबारसम्म घरेलु बक्स अफिसमा ५० लाखमाथिको व्यापार गरेको छ ।