Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाको करिअरकै तेस्रो सर्वाधिक कमाउने फिल्म बन्यो ‘लालीबजार’

फिल्मीखबर, काठमाडौं, 2026/06/03

Swastima Khadka

 

अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयकी ‘नम्बर वान अभिनेत्री’ हुन् भन्दा अतिशयोक्ति हुँदैन । चाहे अभिनय वा फिल्मको व्यावसायिक सफलताकै हिसाबले किन नहोस्, उनी समकालीन अभिनेत्रीहरूभन्दा अगाडि छिन् । फिल्म चलाउन हिरो (पुरुष) नै चाहन्छ भन्ने मान्यतालाई समेत उनले गलत सावित गरेकी छन् । यसको ताजा उदाहरण ‘लालीबजार’ हो ।

यस वर्ष ‘स्टार’ कहलिएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, विजय बरालजस्ता हिरोहरूका फिल्म बक्स अफिसमा असफल भइरहँदा स्वस्तिमाको ‘लालीबजार’ले भने ‘सरप्राइज व्यापार’ गरेको छ । यो यस वर्षको पहिलो ‘क्लिन हिट’ फिल्म हो । फिल्मले मंगलबारसम्म घरेलु बक्स अफिसमा ८ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको ‘लालीबजार’ स्वस्तिमाको करिअरको तेस्रो धेरै कमाउने फिल्म समेत बनेको छ । उनको सबैभन्दा धेरै कमाउने फिल्ममा ‘छक्का पञ्जा २’ पर्छ । यसले १४ करोड ५१ लाख रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । दोस्रोमा ‘दिमाग खराब’ रहेको छ, जसले ८ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

‘लालीबजार’अघि उनको करिअरको तेस्रो धेरै कमाउने फिल्ममा ७ करोड ३२ लाख रुपैयाँसहित ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ थियो । अब यो फिल्म चौथौ स्थानमा झरेको छ । ‘लालीबजार’ले प्रदर्शनको तेस्रो सातामा ‘पशुपतिप्रसाद–२’को कमाइलाई उछिनेको हो । फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘दिमाग खराब’को रेकर्ड पनि तोडिन सक्ने देखिन्छ ।

‘लालीबजार’लाई छाड्ने हो भने यसअघि स्वस्तिमाका सफल फिल्महरू पुरुष पात्रमा केन्द्रित थिए । चाहे ‘छक्का पञ्जा २’ होस् वा ‘दिमाग खराब’ । यसैले फिल्म सफल हुँदा पनि उनले सोचेअनुरुप श्रेय पाइनन् । तर, ‘लालीबजार’को भने हिरो नै उनी हुन् । यसैले फिल्मको सफलताको श्रेय पनि उनैले पाइरहेकी छन् । यो फिल्मले उनको करिअरलाई नै नयाँ दिशा दिएको छ ।