Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोल नं १’ हेरेपछि कलाकारले भने– ‘हरेक अभिभावकले हेर्नैपर्ने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2026/06/02

roll no 1

 

गत शुक्रबार (१५ जेठ)बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं १’ले घरेलु बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसके पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मले उठान गरेको विषयवस्तु र कलाकारहरूको अभिनय निकै रुचाइएको छ । फिल्म हेर्दा दर्शकहरू भावविह्वल बनेका भिडियो समेत सार्वजनिक भइरहेका छन् । 

फिल्मलाई प्राप्त प्रतिक्रियाले उत्साहित देखिएको निर्माण टिमले सोमबार काठमाडौंको एक हलमा ‘सेलिब्रेटी शो’ आयोजना गरेको थियो, जहाँ तुलसी घिमिरे, जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ, अञ्जना बराइली, नीता ढुगांना, सञ्चिता लुईंटेल, गरिमा शर्मा, अनुभव रेग्मी, लुनिमा तुलाधार, सरिता गिरी, मेक्सम गौडेल, हरिहर अधिकारीलगायत उपस्थित थिए । 

फिल्म हेरेपछि कलाकारहरूले यसको विषयवस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरे । अभिनेत्री लुनिभा तुलाधरले हरेक अभिभावकले हेर्नैपर्ने फिल्म भएको बताइन् । उनले भनिन्, ‘आफ्नो छोराछोरीको रुचि केमा छ, उसले के गर्न चाहन्छ, के पढायो भने अथवा गरायो भने त्यसमा मन लगाउँछ भन्ने थाहा पाउन पनि यो फिल्म हरेक अभिभावकले हेर्नैपर्छ ।’

हास्य कलाकार जितु नेपाल (मुन्द्रे)ले फिल्मको संवाद र सन्देशको प्रशंसा गरे । उनले भने, ‘हामीले जहिले पनि बच्चाहरूलाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्‍यौं । तर, यो फिल्मले प्रस्ट पारेको छ कि कोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन । शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई फिल्मले निकै सान्दर्भिक रूपमा उठाएको छ ।’

अभिनेत्री सञ्चिता लुइँटेलले फिल्मको लेखन र प्रस्तुति मर्मस्पर्शी रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘फिल्मको लेखन र प्रस्तुति निकै राम्रो छ । यसले शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नगरी सीपसँग जोडेको छ । आजको पुस्ताका बालबालिका र उनीहरूका अभिभावकले एकपटक यो फिल्म हेरेर धेरै कुरा सिक्न सक्छन् । फिल्मका संवाद र भावनाहरू मर्मस्पर्शी छन् ।’ 

अभिनेता हरिहर अधिकारीले फिल्म हेरिरहँदा आफ्नै स्कुले जीवन र परीक्षाको डरको झलझली याद आएको बताए । ‘फिल्म एकदमै राम्रो छ । विशेषगरी बाबु र छोराको सम्बन्ध, पढाइ र संघर्षको कथाले मेरो मन छोयो । फिल्म हेरिरहँदा मलाई आफ्नै स्कुल जीवनको याद आयो । परीक्षाको बेला हुने डर र बुवाको संघर्षका कथालाई फिल्मले जीवन्त ढंगले उतारेको छ,’ उनले भने ।

अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा आफू निकै भावुक भएको र यसले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई मर्मस्पर्शी रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘फिल्मको विषयवस्तु निकै बलियो छ । बालबालिकाको मनोविज्ञान र उनीहरूमाथि थोपरिने पढाइको दबाबलाई फिल्मले राम्रोसँग देखाएको छ । फिल्म हेर्दा निकै भावुक भइने रहेछ ।’

जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।