
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’ साउन २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले फिल्मको सम्पूर्ण छायांकन पूरा भएको जानकारी दिँदै प्रदर्शन मिति घोषणा गरेका हुन् । गत साता काठमाडौंको धर्मस्थलीमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो । दुई चरणमा गरी ४५ दिनमा फिल्मको छायांकन पूरा भएको हो ।
प्रदर्शन मिति घोषणा गर्दै निर्माताले फिल्मका मुख्य अभिनेता मुकुन भुषालको ‘क्यारेक्टर लुक्स’ पनि सार्वजनिक गरेका छन् । प्राप्त एक तस्वीरमा मुकुन साडी र चौबन्दी चोलो लगाएर घरको पिँढीमा बच्चा च्यापेको अवस्थामा देखिएका छन् । उनको गलामा पोते र निधारमा महिलाले लगाउने टिका देख्न सकिन्छ । उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा मुकुनसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, मेनुका माझी, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, रामहरी खड्का, काजल भुजेल, दीपक थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् ।
निर्देशक साने स्वयंको लेखन रहेको फिल्ममा सौरभ वली प्रस्तुतकर्तामा छन् भने दिनेश राज बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्म महिलाप्रधान कथावस्तुमा आधारित रहेको जनाइएको छ ।

