
सन् २०१७ मा प्रदर्शन भएको फिल्म ‘द विनर’का अभिनेता तथा मोडल मन्चिन शाक्यले काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैंक अगाडि सुविधासम्पन्न ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा ल्याएका छन् । आइतबार गायक द्वय रामकृष्ण ढकाल र निमा रुम्बाले संयुक्त रूपमा रिवन काटेर उक्त लाउन्जको शुभारम्भ गरे ।
उद्घाटनको अवसरमा लाउन्जले ग्राहकहरूका लागि आगामी एक हप्तासम्म आफ्ना सबै सेवाहरूमा ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । सञ्चालक शाक्यले लाउन्जबाट प्रदान गरिने सेवामा कुनै पनि प्रकारको सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे । मन्चिनले शशी पराजुलीसँग मिलेर यो लाउन्ज सञ्चालनमा ल्याएका हुन् ।
लाउन्जको उद्घाटनपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा ढकाल र रुम्बाले हेयर र मेकअपबारे आफ्ना अनुभव सुनाए । रुम्बाले महिनामा एकपटक कपाल काट्ने र दाह्री नियमित मिलाउने गरेको बताए । मेकअप भने आफूले विरलै गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘फिल्मको छायांकनमा त गर्नैपर्छ । कहिले काहीँ स्टेज कार्यक्रममा जाँदा पनि गर्छु । अरु बेला चाहिँ गर्दिनँ ।’
रामकृष्णले पनि मेकअप गर्न आफूलाई मन नपर्ने बताए । उनले भने, ‘म कपाल र दाह्री प्रायः सैलुन गएर मिलाइरहेको हुन्छु । तर, मेकअप गर्न चाहिँ मन पर्दैन । गीतको छायांकनमा भने क्यामेराका लागि भए पनि मेकअप गर्नैपर्छ । मेकअप गर्दा मलाई एकखालको भार बोकेको जस्तो महसुस हुन्छ । तर, हामी क्यामेरा अगाडि आइरहने मान्छेलाई मेकअप जरुरी छ ।’

