Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’को व्यापार ८ करोड नजिक, ‘मितज्यू’ र ‘काजी’को कति ?

फिल्मीखबर, काठमाडौं, 2026/06/01

bord

 

गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले पछिल्लो शनिबारसम्म झन्डै ८ करोडको व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको तथ्यांकअनुसार फिल्मले जेठ १६ गतेसम्म ७ करोड ९० लाख ३१ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिसम्म २ लाख ६९ हजार २०२ जनाले फिल्म हेरेका छन् ।

‘लालीबजार’पछि दोस्रो ठूलो कमाइ ‘परालको आगो’को देखिन्छ । यसले १ लाख ५४ हजार ३४ वटा टिकट बिक्रीबापत ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । कमाइको मामलामा तेस्रो स्थान ‘मितज्यू’ले हासिल गरेको छ । यसको गत शनिबारसम्मको ग्रस कमाइ १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ रहेको छ भने ४१ हजार २४८ वटा टिकट बिक्री भएका छन् ।

त्यस्तै, ‘मालती मंगले’ले ५१ लाख ७३ हजार ७९३ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कमाइ १६ हजार १८८ वटा टिकट बिक्रीबापत भएको हो । जेठ ८ गते प्रदर्शनमा आएको ‘काजी’को कमाइ भने ५० लाख पनि छैन । १३ हजार ७ वटा टिकट बिक्री भएको यो फिल्मको गत शनिबारसम्मको कमाइ ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस रहेको छ ।

जेठ १ गते प्रदर्शन भएको सुरक्षा पन्त अभिनीत फिल्म ‘लाइफ ड्यामेज’ले भने १० हजार ८५५ वटा टिकट बिक्री गर्दै ३३ लाख २६ हजार ३२० रुपैयाँ ग्रस व्यापार गरेको छ । यसरी हेर्दा हाल प्रदर्शनरत ६ नेपाली फिल्मले कुल १४ करोड ६४ लाख ६३ हजार २५२ रुपैयाँ ग्रस कमाएका छन् । यसमध्ये ‘लालीबजार’ले मात्र पूर्ण रूपमा आफ्नो लगानी सुरक्षित गरेको छ ।