.jpg)
गत शुक्रबार (८ जेठ)बाट प्रदर्शनमा आएको फिल्म ‘काजी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा सोमबार निर्माण पक्षले असारे गीत सार्वजनिक गरेको छ । लोक शैलीमा आधारित ‘ज्यानको तिर्खालाई’ बोलको गीतमा प्रशान्त सिवाकोटी र रचना रिमालको युगल गायन रहेको छ भने शब्द तथा संगीत गायक सिवाकोटी स्वयंको हो ।
धान रोपाइँको पृष्ठभूमिमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हिउँवाला गौतम र सन्दीप बाबु लोहनी देखिएका छन् । भिडियोमा विशेषगरी गरिमा र सन्दीपबीचको प्रेमालाप देख्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
ग्रामीण परिवेशमा आधारित यस फिल्मले उत्साहजनक प्रतिक्रियाका बाबजुद पनि व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । यद्यपि, ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै हलमा देखिनेमा निर्माण टिम आशावादी देखिन्छ । फिल्मलाई दर्शकले ‘मन छुने लभस्टोरी’को संज्ञा दिएका छन् । कतिपय दर्शकले दोस्रो भाग (सिक्वेल)को समेत माग गरेका छन् ।
लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘काजी’लाई रामप्रसाद रिजालले निर्माण हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन तथा चिन्तन राजभण्डारीको छायांकन रहेको छ । यस फिल्मले विपिन र केकीको पात्रमार्फत पारिवारिक सम्बन्धमा आउने उतारचढाव र आदर्श प्रेमलाई प्रस्तुत गरेको छ । फिल्ममा कथाको ‘टाइमफ्रेम’ ३०-३५ वर्षअघिको राखिएको छ ।

