.jpg)
अभिनेता हरिवंश आचार्यले युधिष्ठिरको भूमिकामा अभिनय गरेको फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । गत चैत २ गतेबाट सुरु भएको फिल्मको छायांकन ६६ दिनमा पूरा भएको हो । आइतबार काठमाडौंको एक स्टुडियोमा अन्तिम दृश्य खिचेपछि निर्माण टिमले केक काटेर सेलिब्रेट गर्यो । काठमाडौंअघि पूर्वको झापामा फिल्म खिचिएको थियो ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा हरिवंशसहित जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । उनले यसअघि ‘ज्वाइँ साब’ बनाएका थिए ।
‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा काली रानी श्रेष्ठ निर्माताको रूपमा छिन् । फिल्ममा सुशील पौडेलको लेखन तथा श्याम तामाङको छायांकन रहेको छ । कलाकारको ‘लाइनअप’का कारण दर्शकमाझ प्रतिक्षीत बनेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी गरिएको छ । तर, प्रदर्शन मिति भने तय भएको छैन ।
लेखक पौडेलले फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको स्पष्ट पारेका छन् । उनका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । फिल्मले महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)का चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन समाजको यथार्थ कथा प्रस्तुत गर्ने उनले बताए ।

