
यतिबेला बलिउडमा ठूलो संकट देखिएको छ । एकपछि अर्को आशातित फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरिरहेका छन् । ‘डकैत : अ लभ स्टोरी’, ‘ओ रोमियो’, ‘एक दिन’, ‘पति पत्नी और वो दो’, ‘मर्दानी ३’ जस्ता फिल्म असफल हुँदा बलिउडले अर्बौंको घाटा बेहोरिसकेको छ । अब अर्को फिल्म ‘चाँद मेरा दिल’ पनि फ्लपको संघारमा पुगेको छ ।
गत शुक्रबार (२२ मे)बाट प्रदर्शनमा आएको यस फिल्मले सस्तो टिकट र भरपुर शोजका बाबजुद पनि अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन । फिल्मले मुस्किलले ३ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ३ करोड ७५ लाख र तेस्रो दिन ४ करोड ३५ लाख कमाएको फिल्मले पहिलो विकेन्डमा जम्मा ११ करोड १० लाख नेट कमाइ गरेको छ ।
लक्ष्य र अनन्या पाण्डेको मुख्य भूमिका रहेको यस फिल्मका निर्माताले दर्शकलाई आकर्षित गर्न रिलिजको दिन विशेष अफर समेत दिएका थिए । शुक्रबार साँझ ५ बजेसम्म टिकट मूल्य भारु १४९ रुपैयाँ र त्यसपछि १९९ रुपैयाँ तोकिएको थियो । तर, यसका बाबजुद पनि फिल्मलाई दर्शकको हाहाकार भयो । पहिलो दिन फिल्मको अकुपेन्सी १७.१३ प्रतिशत मात्रै थियो ।
दोस्रो दिन फिल्मको व्यापारमा केही वृद्धि देखिए पनि त्यो ‘वर्ड अफ माउथ’का कारण आएको ठूलो उछाल भने थिएन । त्यो सामान्य वृद्धि मात्र थियो, जुन प्रायः फिल्महरूले शनिबार स्वाभाविक रूपमा पाउँछन् । आइतबारको सार्वजनिक बिदामा समेत फिल्मको व्यापार ५ करोडमुनि सीमित हुनुले अब बक्स अफिसमा कुनै ठूलो चमत्कारको सम्भावना क्षीण देखिएको छ ।
यो फिल्मलाई करण जौहरको धर्मा प्रोडक्सनले निर्माण गरेको हो । प्रेमकथा यो कम्पनीको ट्रेडमार्क नै मानिन्छ । तर, पछिल्लो समय करणका रोमान्टिक फिल्महरूको समीकरण बिग्रिएको देखिन्छ । गत वर्ष उनको प्रोडक्सन हाउसका दुई प्रेमकथा ‘धडक २’ र ‘तु मेरी मै तेरा मै तेरा तु मेरी’ फ्लप भएका थिए । अब त्यो सूचीमा ‘चाँद मेरा दिल’ पनि थपिने लगभग निश्चित देखिएको छ ।

