Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्दै सञ्चारमन्त्रीले गरे साढे २ लाख दिने घोषणा

फिल्मीखबर, काठमाडौं, 2026/05/25

nepali movie

 

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा इतिहास रचेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को टोली काठमाडौं आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र अभिनेत्री पुष्पा थिङ लामालाई चलचित्र विकास बोर्डले खादा र माला लगाएर स्वागत तथा सम्मान गर्‍यो । 

फिल्मको टोलीलाई स्वागत गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस), चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधानलगायत एयरपोर्ट पुगेका थिए । 

फिल्मको टोलीलाई स्वागत तथा सम्मान गरेपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाले कान्समा इतिहास रच्दै नेपाललाई विश्वसामु चिनाएकोमा धन्यवाद दिए । उनले बोर्डको तर्फबाट तत्काल २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे । टोलीको सम्मानका लागि सरकारले थप के गर्न सक्छ भन्नेबारे पनि छलफल गरिने उनले बताए । 

गत बिहीबार कान्समा वर्ल्ड प्रिमियर भएको उक्त फिल्मले शनिबार बिहान फ्रान्समा आयोजित समापन समारोहमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको महत्त्वपूर्ण पुरस्कार मानिने ‘जुरी प्राइज’ जित्न सफल भएको थियो । उक्त विधाको यो दोस्रो ठूलो पुरस्कार हो, जुन पहिलो पटक नेपाली फिल्मले जित्न सफल भएको हो । 

यो फिल्मको कान्समा प्रिमियरपछि विश्वका चर्चित फिल्मकर्मीहरूले प्रशंसा गरेका थिए । बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडी प्लाटफर्ममा प्रतिक्रिया जनाउँदै यो फिल्मबाट नेपाली फिल्मले विशाल फड्को मारेको उल्लेख गरेका छन् । उनले फिल्मको क्लाइमेक्सलाई आफूले कान्समा हेरेको सबैभन्दा उत्कृष्ट दृश्य समेत भनेका छन् । 

अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको ‘एलिफेन्ट्स इन द फग’ले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने लैङ्गिक अल्पसंख्यक समुदायको कथा भनेको छ । यसमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

Most Visited News (monthly)