
यतिबेला देश चुनावमय बनेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो जित निकाल्न उम्मेदवारहरु दिनहुँ घरदैलो गरिरहेका छन् । नेपाली कलाकारहरु पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै गएका छन् । कसैले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् भने कसैले पार्टीका उम्मेदवारका लागि खुलेर मत मागिरहेको अवस्था छ ।

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई आक्रामक बनाउन सोमवार सार्वजनिक गरिएको ‘अलि अलि पिएपछि’ बोलको गीतमा फिल्मका तीन कलाकारहरु सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा क्लबमा नृत्य गर्दै देखिएका छन् । गीतमा शिल्पा बोल्ड अवतारमा प्रस्तुत छिन् ।

समुन्द्र भट्टको दोस्रो निर्देशकिय फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको फिल्मको आइतवार काठमाडौंमा इन्डक्ल्याप भएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक भट्टले जानकारी गराइन् । फिल्मको एक गीत पछि खिचिने उनले बताइन् । फिल्ममा नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

कोरोना महामारीभन्दा अगाडि हिटका ग्यारेन्टी मानिने बलिउड अभिनेता अक्षय कुमारका यस वर्ष लगातार एकपछि अर्को फिल्म असफल भइरहेका छन् । यस वर्ष उनको ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’ फिल्महरु प्रदर्शनमा आए र सबै फ्लप सूचिमा अटाए । वर्षौंपछि उनले आफ्नो फिल्म लगातार असफल भएको देखेका हुन् । जसले उनलाई निराश बनाएको छ ।

दशैं छेको पारेर भारतसँगै नेपालमा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबबाट अभिनेता प्रदीप खड्काले उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् । यही नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले डेब्यू अभिनेताको अवार्ड जितेका हुन् । अवार्ड प्राप्त गरेपछि खिचिएको तस्विरमा उनी खुसी देखिएका छन् ।

अचेल नेपालमा सिक्वेल फिल्मको लहर छ । नयाँ नाममा बनेका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको आकर्षण बढी हुने भएकाले पनि निर्माताहरुले हिट फिल्मकै नामको पछाडि कुनै अंक वा अक्षर झुन्ड्याएर फिल्म बनाउँदै आएका छन् । व्यापारिक हिसाबले सिक्वेल फिल्म सुरक्षित मानिन्छ । कुनै फिल्मले हलबाट नाफा कमायो भने निर्माताले सिक्वेलको परिकल्पना गर्न ढिला गर्दैनन् ।

