
अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना अब निर्माताको रुपमा नयाँ परिचय बनाउँदैछिन् । उनले श्रीमान् हरिहर अधिकारीसँग मिलेर फिल्म ‘ह्रस्व दीर्घ’को निर्माण गरिरहेका छन् । एक हप्ता भारतको हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भएको फिल्मको अब एक महिनापछि आग्रामा दोस्रो चरणको छायांकन हुनेछ ।

यदि कुनै जोडीलाई दर्शकले फिल्ममा हेर्ने इच्छा पालेका छन् भने त्यो प्रदीप खड्का र नीति शाह हुन् । केही विज्ञापनमा एकसाथ काम गरिसकेका उनीहरुले अब लगातार फिल्ममा काम गर्ने सम्भावना बढेको छ । लकडाउनभन्दा अगाडि नीतिले फिल्म ‘हुतुत’ सम्झौता गरेकी थिइन्, जसमा प्रदीप पनि ‘फाइनल’ छन् । नयाँ फिल्म ‘एक्स ९’मा पनि उनीहरुको जोडी बाँधिने निश्चित प्रायः छ ।


अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म र अभिनेताको अवार्ड जितेको फिल्म ‘हल्कारा’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २९ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । अमेरिकामा बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ ।

विवाह बन्धनमा बाँधिएपछि अभिनेत्री वर्षा सिवाकोटीले नयाँ फिल्ममा काम गरेकी छैनन् । झन्डै एक वर्षपछि यसै हप्ता नयाँ फिल्म ‘कामिनो’ सम्झौता गरेकी उनले शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘मनसँग मन’ कोभिडभन्दा अघि नै गरेकी थिइन् । उनले विवाहपछि म्यूजिक भिडियोमा पनि उत्ति गरेकी छैनन् । जसले गर्दा उनी फिल्म र म्यूजिक भिडियो छनोटमा चुजी हुन थालेको देखिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न रातारात सत्तामा रहेको पार्टीमा आबद्ध भएका अभिनेता भुवन केसी आफ्नो उद्देश्यमा सफल भए । दुई वर्षका लागि बोर्डको अध्यक्ष हाँक्ने जिम्मेवारी पाएका उनले ७ महिनाको अवधिमा देखिने गरी र उपलब्धिमुलक काम गर्न सकेका छैनन् भन्दा गलत हुँदैन । यो अवधिमा उनका श्रृंखलाबद्ध विवाद मात्र रिलिज भए । र, हरेक विवाद ब्लकबस्टर भए ।

