
यस वर्षको बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म थियो, ‘भगवत् गीता’ । तर, कलाकार छनोट गर्न ढिलाई हुँदा फिल्म निर्धारित समयमा छायांकनमा निस्कन सकेन र प्रदर्शन मिति पोस्टपोन्ड भयो । मुख्य अभिनेतामा धिरज मगरलाई अनुबन्धित गर्दै गत माघ अन्तिम साताबाट फिल्मको छायांकन सुरु भएको थियो । अब फिल्मको १० प्रतिशत मात्र छायांकन हुन बाँकी रहेको छ ।

अभिनेत्री शिल्पा मास्के पहिलो पटक फिल्ममा बोल्ड भूमिकामा देखिने भएकी छन् । आगामी असार १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को शुक्रबार सार्वजनिक पोस्टरमा उनी जुन रुपमा प्रस्तुत छिन्, त्यसले ‘सरप्राइज’ बनाउँछ । सार्वजनिक चारवटा पोस्टरमध्ये कुनैमा उनी बोल्ड त कुनैमा बाथटबमा न्यूड देखिएकी छन् । यसले उनको भूमिकाप्रति कौतुहलता जगाउँछ ।

नारीलाई सुहाउने साडी भनिन्छ । साडीले ग्ल्यामरस लुक दिने भएका धेरै नेपाली अभिनेत्रीहरु विशेष समारोहमा साडीमा सजिएर पुग्ने गर्छन् । केही भने विरलै साडीमा देखिन्छन् । त्यसमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पहिलो पटक फिल्म ‘रातो टीका निधारमा’को गीत रिलिजमा साडी लगाएर पुगेकी थिइन् । त्यसबेला उनले साडी मनपर्ने भएपनि लगाउन नआउने बताएकी थिइन् ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘जारी’ यस वर्षको पहिलो ब्लकबस्टर बनेको छ । शुक्रबारबाट चौंथो हप्तामा प्रदर्शन थालेको फिल्मले अझै मल्टीप्लेक्सहरुमा राम्रो शोसहित दर्शकको साथ पाइरहेको छ । यसपछि प्रदर्शनमा आएका फिल्म भने बक्सअफिसमा निकै कमजोर देखिएका छन् । हिट फिल्मका सिक्वेललाई समेत दर्शकहरुले रत्तिभर विश्वास गरेको देखिएन ।

आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको देव थापा निर्देशित फिल्म ‘टुल्की’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा नव-अभिनेत्री स्वस्तिमा कार्की गम्भीर र निराश भावमा चित्रित छिन् भने अर्को पोस्टरमा उनीसँगै कलाकार शिशिर वाङ्देल प्रस्तुत छन् । स्वस्तिमा र शिशिरको लुक्सले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने देखिन्छ ।

हलिउड भूमि अमेरिकामा आयोजना हुन लागेको ११औं नेफ्टा अवार्ड पूर्वनिर्धारित मिति (जेठ १३)मा नहुने भएको छ । अवार्डका लागि आवश्यक तयारी नपुगेको भन्दै दुई महिनालाई अवार्ड पोस्टपोन्ड गर्दै साउन ६ गते (जुलाई २२)लाई नयाँ मिति तय गरिएको छ । उक्त अवार्डको मनोनयन घोषणा भने आगामी बैशाख ३१ गते गरिने आयोजक संस्था चलचित्र प्राविधिक संघले जनाएको छ ।

