
सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरू भित्रिने क्रम जारी छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल अनुबन्धित भइसकेको फिल्ममा अब मुख्य अभिनेत्रीको टुंगो लागेको छ । फिल्ममा पहिलो महिला कलाकारको रूपमा अञ्जना बराइलीलाई अनुबन्धित गरिएको हो ।

गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २५ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार फिल्मले भदौ ७ गते आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको उक्त कमाइ ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्रीबापत भएको हो ।

अभिनेत्री सुहाना थापाको यस वर्षका लागि दोस्रो फिल्म ‘बा: एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गरेकी छन् । अर्थात् उनी रोमान्टिक भूमिकामा छैनन् । उनले विवाहित छोरीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा उनको आमाबुबाको भूमिकामा झरना थापा र दिव्यदेव छन् ।

हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ । प्रेमिल भावको यस गीतमा सुरेश लामा र दुर्गा खरेलले स्वर दिएका छन् । शब्द तथा संगीत अर्जुन पोखरेलको हो । उनी फिल्मका प्रस्तुतकर्ता समेत हुन् । गीतमा युवायुवतीबीचको प्रेम र समर्पणको भाव व्यक्त छ ।

२०८९ सालको सुपरहिट फिल्म ‘झिंगेदाउ’ भदौ ५ गतेबाट युट्युबमा सार्वजनिक भइसकेको छ । फिल्म रिलिज भएसँगै भ्यूजको बाढी नै आएको छ । रिलिजको तीन दिनमै २२ लाखभन्दा बढीले फिल्म हेरिसकेका छन् । फिल्मलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । अब यो फिल्मको सिक्वेल ‘झिंगेदाउ २’ असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको फिल्म ‘बुकी’को भलिबल खेलमा आधारित गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र रचना रिमालको स्वर रहेको ‘तनमनमा भलिबल’ गीतमा भलिबल खेलमार्फत राष्ट्रका लागि आफ्नो जीवन समर्पित गरेका खेलाडीको कथा प्रस्तुत गरिएको छ । गीतमा मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत छ ।

