
मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ । मंगलबार बिहान काठमाडौंको गौशालास्थित पशुपतिनाथ क्षेत्रमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । दुई दिन काठमाडौंमा छायांकन गरेर फिल्मको टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । त्यहाँ एक महिना फिल्मको छायांकन हुने निर्देशक ढकालले बताए ।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा निम्त्याएको महाविपत्तिलाई मध्यनजर गर्दै एकपछि अर्को फिल्मले प्रदर्शन मिति स्थगित गरिरहेका छन् । यसैक्रममा अर्को फिल्म ‘बा: एक योद्धा’ पनि पूर्वघोषित मितिमा नआउने भएको छ । यो फिल्म कृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ १९ गते रिलिज हुने तयारीमा थियो ।

भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ पूर्वघोषणाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ । सोमबार फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ३ हजार २७० रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङ−नुवाकोटसम्म ठूलो क्षति पुर्याएको छ । बाढीका कारण हजारौँ नेपाली घरबारविहीन भएको अवस्थामा कलाकारहरूले आर्थिकदेखि आवश्यक विभिन्न सामग्री सहयोग गरिरहेका छन् । अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा ठूलो मात्रामा जिन्सी सहयोग जुटाएकी छन् ।

सर्वकालीन ब्लकबस्टर फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा साढे २५ करोडमाथिको व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार १४ भदौ (आइतबार)सम्म फिल्मले २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ । उक्त अवधिसम्म फिल्मका ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री भएका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्यसको असर नेपाली फिल्म क्षेत्रमा पनि परेको छ । यो अवस्थामा मनोरञ्जनका गतिविधि गर्नु उचित नहुने भन्दै एकपछि अर्को फिल्मले प्रदर्शन मिति स्थगित गरिरहेका छन् । यस्तैमा भदौ २६ गते प्रदर्शन हुने भनिएको फिल्म ‘माया भनेकै यस्तो होला’ पनि निर्धारित मितिमा नआउने भएको छ ।

