Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को व्यापार १३ करोड पार, ‘बाटुलो जून’ ८ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2026/11/23

six nepali movie

 

काठमाडौं । गत कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा १३ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ६ मंसिर (आइतबार)सम्म १३ करोड २६ हजार ९३७ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका ४ लाख २४ हजार ८८२ वटा टिकट बिक्री भएका छन् ।

‘कबड्डी ५’पछि दोस्रो सर्वाधिक व्यापार ‘पेन्सन पट्टा’को छ । यसले हिजो आइतबारसम्म ३ लाख ६४ हजार ८०८ वटा टिकट बिक्री गर्दै १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ यस वर्ष सबैभन्दा धेरै कमाउने क्रमशः दोस्रो र तेस्रो फिल्म हुन् । पहिलो स्थानमा २६ करोडमाथिको व्यापारसहित ‘गौँथली’ छ ।

कात्तिक २६ गते प्रदर्शन भएको फिल्म ‘बाटुलो जून’ले भने व्यापारमा ‘पेन्सन पट्टा’लाई पछ्याइरहेको छ । अभिनेता भुवन केसीको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको ११ दिनमा झन्डै साढे ८ करोडको व्यापार गरेको छ । ६ मंसिरसम्म फिल्मको कुल व्यापार ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस छ । यो कमाइ २ लाख ६९ हजार ५४४ वटा टिकट बिक्रीबापत भएको हो ।

त्यस्तै, असोज ३० गते प्रदर्शन भएको ‘आ बाट आमा २’ले आइतबारसम्म ७ करोड १८ हजार ८०२ रुपैयाँ ग्रस कमाएको छ । यो दसैंमा प्रदर्शन भएका तीन फिल्ममध्ये सर्वाधिक कमाइ हो । बोर्डले यो साता दसैंका अन्य दुई फिल्म ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को कमाइ विवरण भने सार्वजनिक गरेको छैन । यसको अर्थ यी दुवै फिल्म देशका सम्पूर्ण हलबाट उत्रिएका छन् ।

यस्तै, असोज ९ गते प्रदर्शन भएको फिल्म ‘बाः एक योद्धा’ले ३ करोड ५७ लाख ६९ हजार ४४१ रुपैयाँ ग्रैस कमाइ गरेको छ । यसका १ लाख २८ हजार २७५ वटा टिकट बिक्री भएका छन् । फिल्मले हलमा प्रदर्शनको ५१ दिन मनाइसकेको छ । कात्तिक २० गते प्रदर्शन भएको ‘पाँच पाण्डव’ले भने १७ दिनमा जम्मा ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस कमाएको छ ।