Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिजास्टर बन्यो ‘पाँच पाण्डव’, पछिल्लो साता १ लाख ७१ हजार व्यापार

फिल्मीखबर, काठमाडौं, 2026/11/23

haribansha acharya

 

काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शन भएको फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा डिजास्टर बनेको छ । फिल्मले प्रदर्शनको १७ दिनमा ५० लाख रुपैयाँ पनि जोड्न असफल रह्यो । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार ६ मंसिरसम्म फिल्मको कुल व्यापार ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस पुगेको छ ।

फिल्मले प्रदर्शनको पहिलो १० दिनमा ४३ लाख ५० हजार ४९३ रुपैयाँ ग्रस कमाइ गरेको थियो । यो हिसाबले पछिल्लो ७ दिनमा फिल्मले जम्मा १ लाख ७१ हजार ८९५ रुपैयाँ मात्र जोडेको छ । हिजो आइतबारसम्म फिल्म हेर्नेको संख्या १२ हजार ८९० छ । पछिल्लो साता ५९६ जनाले मात्र फिल्म हेरेका छन् । अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्मको देशव्यापी शो दुईवटा छ । 

वसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्म ६ करोडमाथिको लगानीमा निर्माण भएको बताइएको छ । यो लगानी सुरक्षित गर्न फिल्मले १५ करोडमाथिको व्यापार गर्नुपर्ने हुन्थ्यो । तर, फिल्मले ५० लाख रुपैयाँ पनि जोड्न सकेन । फिल्मले १७ दिनमा गरेको ४५ लाख कमाइबाट निर्माताको हातमा बढीमा १५ लाख पर्ने देखिन्छ । यसरी हेर्दा फिल्मको लगानी पूर्ण रूपमा डुबेको छ ।

अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘पाँच पाण्डव’ प्रदर्शनअघि ठूलो विवादमा तानिएको थियो । पोस्टरमा द्रोपदीको रूपमा चिनाइएकी इभा गिरीलाई एक गीतमा बोल्ड अवतारमा प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान नै चलेको थियो । फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्नुको मुख्य कारणलाई यसैलाई मानिएको छ ।