
काठमाडौं । ‘परान’ जोडी महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को प्रदर्शन मिति झन्डै डेढ महिना पछाडि सरेको छ । माघ १ गतेलाई प्रदर्शन मिति तय गर्दै छायांकनमा निस्किएको फिल्म अब फागुन १४ मा आउने भएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।
पोस्टरमा महेश र अञ्जनासहित आशान्त शर्मा देखिएका छन् । महेश किरिया बसिरहेका छन् भने अञ्जना ढोकाको दैलोबाट उनलाई हेरिरहेकी छन् । पृष्ठभूमिमा शुशांक मैनालीको तस्विरमा माला लगाइएको दृश्य छ । यता, आशान्त भने पण्डितको गेटअपमा गरुड पुरुण सुनाइरहेका देखिन्छन् । पोस्टरले फिल्मको कथा पारिवारिक वियोगमा आधारित रहेको संकेत गर्छ ।
राजिव गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुशील सिटौला, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको पनि अभिनय छ । बाल कलाकारमा चिराग श्रेष्ठ र काश्वी भण्डारी छन् । उडान स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई शर्मिला थापाले निर्माण गरेकी हुन् । कांग्रेस नेतृ समेत रहेकी उनी निर्देशक गुरुङकी श्रीमती हुन् ।
रिच इन्टरटेन्मेन्टले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र एसडी योगीको संगीत, किशोर आचार्यको साउण्ड डिजाइन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशकको जिम्मेवारी सुदाम सिकेले सम्हालेका छन् । फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल क्षेत्रमा गरिएको हो ।

