दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन तीन दिन बाँकी रहँदा बुधबार साँझ ९ बजे ज्योतिषले दिएको साइतमा ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखेको ट्रेलरले प्रस्ट पार्छ ।
ट्रेलरमा दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन् भने केकी अधिकारी उनकी श्रीमती बनेकी छन् । चिकित्सकले केकीबाट बच्चा नहुने पुष्टि गरेपछि दीपकराज सनिशा भट्टराईसँग नजिकिन्छन् । तर, पछि केकी र सनिशा दुवै गर्भवती हुन्छन् । त्यसपछि दीपकराजले कसरी परिस्थिति सम्हाल्छन् भन्ने ट्रेलरमा देखाइएको छ । ट्रेलरमा पञ्चलाइनको भने अभाव देखिन्छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा दीपक, केकी र सनिशासहित निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया, मेक्सम गौडेललगायतका कलाकारहरूको अभिनय छ । दुई साताअघि अमेरिकाबाट सुटुक्क नेपाल आएका केदार घिमिरे (माग्ने बुढा)ले पनि फिल्ममा अभिनय गरेका छन् ।
असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । रोहितले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । दीपक-दीपासँग उनको यो दोस्रो सहकार्य हो । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा दीपकराज स्वयंको लेखन छ ।

