
निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु एकसाथ देखिने भएका छन् । आर्यन सिग्देल र प्रदीप खड्कापछि निर्देशक राउतले शनिबार पल शाहसँग सम्झौता गरेका छन् । अहिलेका नायकहरु आ-आफैं भिडिरहेको भन्ने टिप्पणी भैरहेको समयमा यो टिमअपले सकारात्मक सन्देश दिने देखिन्छ । पलले हालै फिल्म ‘मायावी’को छायांकन भ्याएका हुन् ।

‘डेसान’ फेम्ड निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो फिल्म ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजाआजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । फिल्म सामाजिक प्रेमकथामा आधारित भएर निर्माण हुने जनाइएको छ । फिल्ममा निर्देशक मगरको कथा लेखन रहेको छ ।

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’बाट अभिनयमा सम्भावना देखाएकी विनिता थापामगर अभिनीत नयाँ फिल्म ‘जम्प’ यही मंसिर २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसमा उनले ‘हल्कारा’मा भन्दा फरक चरित्र निर्वाह गरेकी छन् । जसले गर्दा काम गर्न गाह्रो भएको उनको अनुभव छ । फिल्मको चरित्र र आफ्नो पृष्ठभूमि फरक भएकाले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् ।

लक्ष्मण सुवेदीद्वारा निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । अभिनेत्री मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको पोस्टरले फिल्मको दृश्यभाषाप्रति धेरैमा कौतुहलता जगाएको छ । यसबीच, बुधबार फिल्म सेन्सर पास भएको छ । सबै उमेर समुहका दर्शकहरुले हेर्न मिल्ने गरी फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ ।

करिश्मा श्रेष्ठ आफ्नो अभिनयले भन्दा प्रेम र ब्रेकअपका कारण ‘लाइमलाइट’मा रहेकी अभिनेत्री हुन् । अभिनेता सलोन बस्नेतसँग उनको प्रेम र ब्रेकअप कुनै बेला सुपरहिट थियो । तर, दुवैले अभिनय गरेका तीन फिल्म भने व्यावसायिक रुपमा सफल भएनन् । फिल्म ‘बाबु कान्छा’ रिलिजपछि उनको सलोनसँग ब्रेकअप भयो । यसपछि उनको फिल्मसँग पनि ब्रेकअपजस्तै देखिएको थियो ।

‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेण्ड लम्बाईको टिजरमा फाइटर जेट्सको एरियल एक्सन देखाइएको छ । टिजरमा समावेश हरेक एक दृश्यले रोमाञ्चक बनाउँछन् । ब्याकग्राउन्ड स्कोर सशक्त छ । टिजरमा कुनै कलाकारको संवाद भने राखिएको छैन । यो फिल्म २५० करोड भारुमा बनेको हो ।

