
बलिउडका दुई एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ टिजरमा आर्मी र आतंककारी समुहबीचको द्वन्द्वलाई देखाइएको छ । आर्मी अफिसरको भूमिकामा रहेका अक्षय र टाइगर खतरनाक ‘स्टन्ट’ गर्दै प्रस्तुत छन् । भिलेनको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन भने मुखौटा लगाएर देखिएका छन् ।

रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल भएका छन् । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तलाई अर्की अभिनेत्री केकी अधिकारीले ‘रिप्लेस’ गरेकी छन् । शोको निर्णायकमा केकी अनुबन्ध भइसकेको निर्देशक अमनप्रताप अधिकारीले जानकारी गराए । अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन् ।

यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हात्तीछाप’लाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित छिन् । एकातिर ‘दुई नम्बरी’ जस्तो सफल फिल्मको टिम र अर्कोतिर गाउँले चरित्र रहेकाले उनी प्रचारमा पनि सक्रिय देखिएकी छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले फिल्म मनोरञ्जनात्मक रहेको र दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् ।

‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका प्रशान्त ताम्राकार अब निर्माता बन्ने भएका छन् । उनले क्राइम थ्रीलर जनरामा फिल्म निर्माण गर्न लागेका हुन् । रोनी मानन्धरको निर्देशनमा बन्न लागेको फिल्ममा प्रशान्त स्वयंले मुख्य भूमिका निर्वाह गर्नेछन् । एक घटनामा अनुसन्धान गरिरहेको प्रहरीको भूमिकामा आफूले काम गर्न लागेको उनले बताए । अर्थात् प्रशान्तको सकारात्मक भूमिका रहनेछ ।

‘कालो पोथी’ निर्देशक मीन भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ विश्वकै प्रतिष्ठित मानिने बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा फिल्म छनोट भएको डेडलाइनले उल्लेख गरेको छ । बर्लिनको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन् ।

अभिनेत्री मलिका महतलाई चाँदनीको रुपमा चिनाउँदै फिल्म ‘अगस्त्य : च्याप्टर वान’को चौंथो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक दुईवटा क्यारेक्टर पोस्टरमा मलिका साधारण र हँसमुख युवतीको रुपमा चित्रित छिन् । एक पोस्टरमा उनी अभिनेता सौगात मल्लसँग रोमान्टिक भावमा देखिएकी छन् । यसले फिल्ममा उनीहरुको जोडी बाँधिएको स्पष्ट संकेत गर्छ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

