
अभिनेत्री अनु शाहले झन्डै ५ वर्षपछि कमब्याक गरेको फिल्म ‘ईश्वर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । उनी यो फिल्म सफल हुनैपर्ने दबाबमा छिन् । किनकि, सन् २०१५ मा आएको ‘भैरव’पछि उनका एउटै फिल्म सफल छैनन् । जसले गर्दा उनको करिअर नै संकटग्रस्त अवस्थामा छ । ‘ईश्वर’ले व्यावसायिक सफलता हासिल गरेको खण्डमा उनलाई ठूलो राहत मिल्नेछ ।

चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अभिनेता भुवन केसी अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते (बुधबार) नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । जहाँ भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै योगदान नगरेको उनको गुनासो थियो ।

गत वर्ष आएको फिल्म ‘अगस्त्य’ले सौरभ चौधरीलाई निर्देशनमा स्थापित गरिदिएको छ । फिल्मले ठूलो सफलता हासिल नगरे पनि उनको निर्देशकीय क्षमता र मिहिनेतको प्रशंसा भएको थियो । यसपछि उनको करिअर नै चम्किएको छ । अहिले उनको हातभरि फिल्म छ । उनले चारवटा फिल्म सम्झौता गरिसकेका छन् । त्यसमध्येको एक हो, ‘कर्मा’ । जसको बिहीबार घोषणा गरिएको छ ।

यो वर्षको ‘स्योर सट’ सुपरहिट फिल्म हो, ‘छक्का पञ्जा ५’ । दशैंको फूलपाती अर्थात् असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको छायांकन पनि पूरा भइसकेको छ । तर, अहिलेसम्म कलाकारमा तीनजनाको मात्र नाम बाहिर आएको छ । दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरेबाहेक अरुको नाम गोप्य नै राखिएको छ । तर, फिल्म क्षेत्रमा कुनै कुरा गोप्य रहन सक्दैन ।

नेपाली फिल्म क्षेत्रमा नातावाद, कृपावाद र गुटबन्दीको विषयमा अक्सर चर्चा भइरहन्छ । यसले गर्दा प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको धेरैको विश्लेषण छ । एक समयका सफल अभिनेता एवं निर्देशक सरोज खनालले पनि फिल्म क्षेत्रमा गुटबन्दी मौलाएको महसुस गर्न थालेका छन् । उनको अनुभवमा आजभोलि सीमित कलाकारलाई मात्र लिएर फिल्म बनाउने प्रचलन निकै बढेको छ ।

यही साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक लगभग तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । दशकौंअघि गाउँ-गाउँमा पुगेर सुन बनाउने सुनार जातिको कथासँगै प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई ट्रेलरमा देखाइएको छ ।

