
गुरुङ भाषाका फिल्ममा अभिनय गर्दै आएकी अभिनेत्री कृष्टिन गुरुङ मूलधारको फिल्ममा पनि अगाडि बढिरहेकी छन् । अघिल्लो वर्ष आएको ‘दयारानी’मा छोटो भूमिकामा देखिएकी उनले अब यही साउन ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ईश्वर’मा मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनी यो फिल्ममा निर्माता ध्रुव थापा र अभिनेता माओत्से गुरुङका कारण जोडिन पुगेकी थिइन् ।

लगभग एक दर्जन फिल्ममा अभिनयको अनुभवपछि अभिनेत्री वर्षा राउतले अब नाटकमा डेब्यु गर्ने भएकी छन् । विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’बाट उनले रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । यही नाटकबाट वर्षासँगै जोयस पाण्डेले पनि अभिनयमा डेब्यु गर्दैछन् । जोयश फिल्म ‘साँघुरो’का निर्देशक समेत हुन् । यो नाटकमा जोयश र विमलको संयुक्त लेखन छ ।

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आउट लः दफा २१९’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट २७ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलर ‘एक्सन प्याक्ड’ छ ।

निर्देशक सिमोस सुनुवारले यस वर्ष दुईवटा फिल्म बनाउने भएका छन् । अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा लिएर प्रदीप भारद्वाजको लेखनमा फिल्म ‘जन्ते बाख्रो’ निर्देशनको तयारीमा रहेका उनले अर्को फिल्ममा पनि सौगातलाई नै लिएका छन् । नाम भने तत्काललाई गोप्य राखिएको छ । यसअघि सिमोस र सौगातले दुई फिल्म ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा सहकार्य गरेका थिए ।

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारहरुको ‘लाइनअप’ रोचक बन्दैछ । केही दिनअघि फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका थिए । अब अर्का अभिनेता निश्चत बस्नेतको पनि अभिनय रहने निश्चित भएको छ । निर्माण टिमले खगेन्द्र र निश्चलसँग एकैदिन कागजी सम्झौता गरेको थियो ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा फिल्मकी अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति बोल्छ । रोमानियाको मनमोहक दृश्यले गीत आकर्षक बनेको छ ।

