
संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी ‘एंग्री योङम्यान’को लुक्समा देखिएका छन् । एउटा हातमा तातो चियाको कप लिएका उनको शरीरमा चोटैचोट र रगत बगिरहेको छ । यसले फिल्ममा उनको चरित्र हिंसात्मक रहेको संकेत गर्छ ।

यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’का दुई प्रमुख कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले प्रचारका लागि कुनै प्रयास छाडेका छैनन् । केही दिनअघि ऐतिहासिक ‘पशुपति कोटिहोम महायज्ञ’मा सहभागी भएर फिल्म सफलताको आशीर्वाद मागेका थिए । शनिबार भने यो जोडीले बागमती नदीमा र्याफ्टिङ गर्दै फिल्मको प्रचार गर्यो ।


चलचित्र विकास बोर्डले डेढ वर्षदेखि स्वदेशी र विदेशी फिल्मको बक्सअफिस तथ्यांक सार्वजनिक गरेको छैन । जसले गर्दा निर्माता र वितरकबाट प्राप्त तथ्यांकलाई नै आधार मान्नुपर्ने अवस्था छ । तर, प्रायःले फिल्मलाई सफल देखाउन वास्तविक आँकडाभन्दा दोब्बर बढाएर समेत सार्वजनिक गरिरहेका छन् । बोर्डले बक्सअफिस रिपोर्ट लुकाएर राख्दासम्म यो प्रवृत्ति कायमै रहने देखिन्छ ।

कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठको डेब्यु निर्देशनमा फिल्म ‘लाइफ ड्यामेज’ बन्ने भएको छ । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट तथा क्ल्याप बोर्ड पूजा गर्दै फिल्मको मुहूर्त गरियो । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा बन्न लागेको फिल्ममा निर्देशक श्रेष्ठ स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनको जोडी भएर अभिनेत्री सुरक्षा पन्त प्रस्तुत हुँदैछिन् ।

विवाहअघि अभिनेत्री प्रियंका कार्कीको व्यस्तता फिल्ममा बढी थियो । त्यसपछि भने उनले विरलै फिल्म गरेकी छन् । बरु म्यूजिक भिडियो र रियालिटी शोमा व्यस्तता देखिन्छ । चाँडै फिल्म ‘माइली’मा काम गर्ने तयारीमा रहेकी उनले करिअरको सुरुवातदेखि नै हिरोइन मात्र भएर देखिने अडान लिएको देखिँदैन । फिल्ममा कहिले आमा त कहिले बुहारीको भूमिका निभाउँदै आइरहेकी छन् ।

