

निर्माता अर्जुन कुमारले आफ्नो आगामी फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरेका छन् । यसअघि असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको फिल्म अब एक हप्ता अगाडि नै हलमा लाग्नेछ । आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रतिस्पर्धीविहीन बनेको छ ।

यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’को रिलिजबारे जानकारी गराएका हुन् । अरु बेलामा जस्तो उनको यो स्टाटसले कसैप्रति पनि कटाक्ष गरेको छैन ।

विजयादशमी (दशैं)को घटस्थापनालाई लक्षित गरेर आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । हल रिलिजको एक सातापछि युट्युबमा सार्वजनिक गरिएको साढे २ मिनेटको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।

चर्चित हास्य श्रृंखला ‘सक्किगोनि’को टिम अब फिल्म निर्माणको तयारीमा छ । ‘लाज शरणम्’ शीर्षकमा बन्न लागेको फिल्मको केही समयदेखि वर्कसप चलिरहेको छ । यही भदौ अन्तिम साताबाट छायांकन गर्न लागिएको फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो बनाइएको छ । विशेषगरी ‘सक्किगोनि’ सिरियलबाट दर्शकलाई हँसाउँदै आएका कलाकारलाई नै केन्द्रीय भूमिकामा लिइएको छ ।

यही भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री शिल्पा मास्के नृत्य गर्दै प्रस्तुत छिन् । सुरुमा उनी शास्त्रीय नृत्य गर्दै देखिएकी छन् । यो गीतले नारीको पीडा बोलेको छ । स्वप्निल शर्माको स्वर र शब्द रचना तथा रोहित शाक्य संगीत रहेको गीतमा मिङ्मा लेप्चाको नृत्य निर्देशन र निर्देशन छ भने बशिष्ठ घिमिरेको छायांकन छ ।

