
नेपालको पहिलो ‘साइन्स फिक्सन’ फिल्म ‘एक्लो’की मुख्य अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनलाई ‘क्वीन मारा’को रुपमा चिनाइएको छ । शान्त भावमा देखिएकी उनको पहिरन र अनुहारमा रगत पोतिएको छ भने आँखाको वरिपरि सेतो रंगले मास्कको आकृति बनाइएको छ । उनको गेटअपले फिल्ममा प्रभावशाली चरित्रको संकेत गर्छ ।

गत फागुन २९ गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘आउट लः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दीमा डबिङ भइसकेको फिल्मको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । साउथको ‘केजीएफ’ जस्ता फिल्मको हिन्दी डबमा स्वरांकन गरेका सचिन गोले लगायतका डबिङ आर्टिस्टहरुले फिल्ममा आवाज दिएका छन् ।

अक्सर नेपाली फिल्मको पोस्टर सीधै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्छ । यो एउटा परिपाटी नै बनिसकेको छ । तर, अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को पोस्टर भने फरक शैलीमा सार्वजनिक गरियो । हमाल चित्रित ६० फिट लामो पोस्टर काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेजका ५ सय बढी विद्यार्थीले तन्काएर सार्वजनिक गरेका थिए ।

गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को मल्टीप्लेक्सहरुले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री सुरु गरेका छन् । मंगलबारदेखि फिल्मको टिकट बुकिङ खुलेको हो । फिल्मले पाएको शो संख्या हेर्दा हल सञ्चालकहरूले ठूलो विश्वास गरेको देखिन्छ । बुधबार अपराह्नसम्म फिल्मले पहिलो दिनका लागि साढे २ सय बढी शो पाएको छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको फिल्म ‘चमेलीको पोई’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । गत वर्ष नारायण त्रिपाठी (प्रेम चरो)लाई मुख्य भूमिकामा अनुबन्धित गरिएको फिल्ममा अब सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा, उमेश राई (फुलन्देकी आमा), रजनी गुरुङ, खड्गबहादुर पुन, बबिन राई लगायतको प्रवेश भएको छ ।

केही दिनअघि निर्देशक दीपेन्द्र के. खनालले फेसबुकमार्फत् फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने जानकारी गराएका थिए । तर, अब यो फिल्म एक हप्ता अगाडि सरेको छ । अर्थात् जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसको जानकारी फिल्मका वितरक करण श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत् गराएका हुन् ।

