
फिल्म ‘रणवीर’बाट डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’सम्म आइपुग्दा ‘लभर गर्ल’को भूमिकामा बढी देखिइन् । तर, यही चैत २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पिताम्बर’मा भने उनी फरक भूमिकामा छिन् । यसमा उनले विधवा महिलाको भूमिका निभाएकी छन् । उनी आफूले खोजेको जस्तो भूमिकामा काम गर्न पाएकोमा खुसी छिन् ।

यस वर्षको सफल फिल्म ‘खुस्मा’का निर्देशक अशोक थापा मगरले नयाँ फिल्म ‘जलाकी’को छायांकन सुरु गरेका छन् । शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै बाग्लुङको कालिका भगवती मन्दिरबाट छायांकन थालिएको हो । केही दिनअघि पोखराको विन्ध्यवासिनी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको थियो । निर्देशक थापाका अनुसार फिल्मको छायांकन तीन चरणमा गरिनेछ ।

गायन र फिल्म अभिनय दुवैमा सफलताको स्वाद चाखिसकेका प्रकाश सपूतको अब निर्देशनमा अग्नि परीक्षा सुरु भएको छ । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । आफ्ना गीतको भिडियोमा प्रभावकारी ढंगले कथावाचन गर्दै आएका उनलाई फिल्ममा अझ उत्कृष्ट हुनुपर्ने चुनौती मात्र छैन, व्यावसायिक रुपमा सफल हुनुपर्ने दबाब पनि छ ।


नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा भ्रष्ट सिस्टमले अपराधी करार भएका एक पात्रको संघर्षलाई देखाइएको छ । ट्रेलरको अन्तिम तीस सेकेण्ड सशक्त देखिन्छ, जहाँ अभिनेता विपिन कार्की एक्सन अवतारमा प्रस्तुत छन् ।

आगामी जेठ ९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर छ भने भिडियोमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्मा चित्रित छन् । उनीहरुबीचको प्रेमलाई भिडियोमा उतारिएको छ ।

