
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फिल्म ‘झ्यानाकुटी’मा पहिलो पटक सहकार्य गरेका थिए । यसमा दम्पतीको भूमिका निभाएका उनीहरूको जोडीलाई दर्शकले निकै रुचाए । अब ७ वर्षपछि यो जोडीले यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’मा काम गरेका छन् । संयोग के छ भने यसमा पनि उनीहरु श्रीमान्-श्रीमती भएर देखिएका छन् ।

अचेल नेपाली फिल्ममा तीजको प्रसंग र तीज गीत विरलै समावेश हुने गरेको छ । पछिल्लो पटक फिल्म ‘द सिक्रेट अफ राधा’मा तीज गीत ‘पाउमा पाउजु’ समावेश थियो, जुन निकै चर्चित भयो । यतिबेला भने फिल्म ‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी’ चर्चामा छ । रिलिजको साता दिनमै यो गीतले हिट हुने लक्षण देखाइसकेको छ । किनकि, टिकटकमा गीत भाइरल भइरहेको छ ।

चर्चित टिकटकर आयुष सिंह ठकुरी अब फिल्मको हिरो बन्ने भएका छन् । उनले कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘राम नाम सत्य’बाट डेब्यु गर्न लागेका हुन् । उनलाई सोमबार निर्माण पक्षले फिल्ममा अनुबन्ध गरेको हो ।

हास्य व्यंग्यमा आधारित चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले पहिलो फिल्मको रूपमा ‘क का कि की’ निर्माण गर्ने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा उल्लेख भए अनुसार फिल्मलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले निर्देशन गर्नेछन् । ‘कमेडी दरबार’को निर्देशन गर्दै आइरहेका उनीहरु श्रीमान्-श्रीमती हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्म ‘अभिमन्यु’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । खुसी र तनाव झल्किएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । एउटा पोस्टरमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा चित्रित छन् । मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रसन्न देखिन्छन् । यसले उनीहरुबीच प्रेम रहेको दर्शाउँछ ।

स्वर्गीय निर्देशक शिव रेग्मीको कालजयी फिल्ममध्ये एक मानिन्छ, ‘सुख दुःख’ । २०६१ सालमा प्रदर्शन भएको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, स्व. श्रीकृष्ण श्रेष्ठ, स्व. केशव भट्टराई, झरना थापाको मुख्य भूमिका थियो । अब उक्त नाममा एकपटक फेरि फिल्म बन्दैछ । अभिनेत्री नीता ढुंगाना (अधिकारी)ले आफ्नो निर्देशनमा ‘सुख दुःख’ बनाउन लागेकी हुन् ।

